इनरुवा अस्पतालको सेवा सुधार र स्तरोन्नतिको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइयो


जजन्युज समाचारदाता
इनरुवा । सुनसरी जिल्ला अस्पताल इनरुवाको सेवा प्रवाहमा व्यापक सुधार र स्तरोन्नतिको माग गर्दै ‘इनरुवा अस्पताल सुधार संघर्ष समिति’ले मंगलबार अस्पताल प्रमुख र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। संघर्ष समिति संयाेजक दिलिपचन साहुले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर सन्तोष शाह तथा प्रशासन प्रमुख उमेश गौतमलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालका समस्याहरू तत्काल समाधान गर्न जोडदार माग गरेको हो। ध्यानाकर्षण पत्रमार्फत समितिले विगतमा सञ्चालनमा रहेर हाल बन्द अवस्थामा रहेको ब्लड बैंक पुनः सञ्चालन गर्न, अस्पतालको आफ्नै फार्मेसीमा पर्याप्त औषधिको व्यवस्था मिलाउन, र स्वीकृत दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर तथा कर्मचारीहरूको पदपूर्तिको लागि तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।
यसैगरी, अस्पताल प्राङ्गणभित्र रहेको जिल्ला जनस्वास्थ्य कार्यालयलाई अन्यत्र स्थानान्तरण गरी ठाउँ खाली गराउनुका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन जिल्ला अस्पतालको स्वामित्वमा ल्याएर सोही भवनबाट विभिन्न स्वास्थ्य सेवा-सुविधाहरू सञ्चालन गर्न माग गरिएको छ।
संघर्ष समितिले अबको १५ दिनभित्र हस्पिटलको विकास र सेवा विस्तारका लागि सर्वपक्षीय बैठक आह्वान गर्न निमित्त मेसुलाई कडा ध्यान खिचेको छ। उक्त बैठकमा अस्पताल विकास समिति, सुधार संघर्ष समिति, त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य (सांसद), प्रदेश सभा सदस्य तथा मन्त्रीज्यूहरूको समेत उपस्थिति हुनुपर्ने समितिले जनाएको छ।
सर्वपक्षीय बैठकमार्फत अस्पतालमा आईसीयू (ICU), भेन्टिलेटर, र सीटी स्क्यान (CT Scan) जस्ता अत्याधुनिक सेवा विस्तार गर्नका साथै इनरुवा अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्न ठोस छलफल गरी निर्णय लिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
