करम पूजाको अवसरमा कोशी गाउँपालिकामा राष्ट्रिय करम पर्व तथा सांस्कृतिक कार्यक्रम हुने,प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह
इनरुवा, असोज ८ गते।
सुनसरीको कोशी गाउँपालिका-३ पश्चिम कुशाहामा राष्ट्रिय करम पर्व २०८३ को अवसरमा विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल झाँगड (उराँव) युवा मोर्चा र कुडुख भाषा सांस्कृतिक उत्थान मञ्च केन्द्रीय कार्य समितिको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

नेपालको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक सामाजिक संरचनाभित्र अति सीमान्तकृत झाँगड (उराँव) आदिवासी समुदायले परम्परागत रूपमा मनाउँदै आएको राष्ट्रिय करम पूजा पर्व मौलिक धर्म, संस्कार, संस्कृति र प्रकृतिको संरक्षणका लागि महत्वपूर्ण मानिन्छ। उराँव समुदायको ऐतिहासिक पहिचान, भाषा, धर्म र संस्कारको संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

आयोजक समितिका अनुसार कार्यक्रम आगामी असोज १० गते शनिबार बिहान ८:०० बजेदेखि कोशी गाउँपालिका-३ स्थित ऐतिहासिक धार्मिक स्थल धर्मेबेलस कुम्बा (मन्दिर) परिसरमा सञ्चालन हुनेछ।

सांस्कृतिक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
कार्यक्रममा उराँव समुदायका मौलिक झाँकी, सांस्कृतिक नृत्य, पूजापाठ तथा विभिन्न प्रस्तुतिहरू रहनेछन्।

आयोजक संस्थाका अध्यक्ष देव नारायण उराँवका अनुसार यस कार्यक्रमले अति सीमान्तकृत झाँगड समुदायको पहिचान जोगाउनुका साथै सांस्कृतिक विविधताको संरक्षणमा समेत ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।

