इनरुवामा विविध सांस्कृतिक प्रस्तुतिसहित नवौँ करम महोत्सव सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १० गते । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको इनरुवा–२ स्थित करम टोडकामा करम पर्व तथा करम पूर्वसन्ध्या धुमधामका साथ मनाइएको छ ।

विभिन्न जिल्लाका उराँव समुदायको सहभागितामा परम्परागत तथा सांस्कृतिक पर्व करम पूजाको पावन अवसरमा नवौँ करम पूर्व सन्ध्या तथा महोत्सव र सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । स्थानीय संस्कृति, परम्परा र उराँव समुदायको मौलिक पहिचानलाई प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट आएका ३० भन्दा बढी उराँव तथा अन्य आदिवासी झाँकी टोलीहरूले भाग लिएका थिए । सहभागी टोलीहरूले आ–आफ्नो मौलिक भेषभूषा, बाजागाजा र परम्परागत नृत्य प्रस्तुत गर्दै सम्पूर्ण वातावरणलाई सांस्कृतिकमय बनाएका थिए ।

कार्यक्रमका बारेमा जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष बेचन उरावले उराँव समुदायको इतिहास, संस्कृति र आपसी भ्रातृत्वलाई जोगाइराख्न यो महोत्सव विगत नौ वर्षदेखि निरन्तर रूपमा आयोजना गरिँदै आएको बताउनुभयो । “हाम्रो मौलिक संस्कृति, करम वृक्षको पूजा तथा परम्परागत नृत्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न र प्रदेशभरिका समुदायलाई एकै ठाउँमा जोड्न यस महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको छ,” अध्यक्ष उराँवले भन्नुभयो । महोत्सवमा धार्मिक विधिअनुसार करमको बोट (वृक्ष) को पूजा–आजा गरी प्रकृति र भ्रातृत्वको कामना गरिएको थियो।

झाँकी तथा नृत्य प्रस्तुतिका साथै विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा उपस्थित स्थानीयवासी, झाँकी टोली तथा पाहुनाहरूलाई मन्त्रमुग्ध बनाएको थियो । विभिन्न जिल्लाबाट आएका कलाकारहरूका साथै स्थानीय अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको महोत्सवले मधेश र कोशी प्रदेशबीच सांस्कृतिक सद्भाव, भ्रातृत्व र मौलिक परम्पराको आदानप्रदानमा विशेष योगदान पु¥याएको आयोजक समितिले जनाएको छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको इनरुवा–२ स्थित करम टोडकामा करम पर्व तथा करम पूर्वसन्ध्या कार्यक्रम संयोजक दुर्गा उराँवले जानकारी दिनुभयो । शनिबार पूर्णिमाका दिन उराँव समुदायको महान् चाड करम पर्व भव्यताका साथ मनाएको प्रतिष्ठानले जनाएको छ । सहभागी भएको प्रत्येक टोलीमा बाजा बजाउनेसहित महिला १० र पुरुष ११ गरी बढीमा २१ जनासम्म सहभागी भएको थियो ।

१, सुनसरीको इनरुवा नगरपालिका २ स्थित आयोजना गरेको करम पूर्व सन्ध्या कार्यक्तममा उराँव समुदायको मौलिक नृत्य गर्नुुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


