उराँव समुदायको राष्ट्रिय करम पर्व सम्पन्न, करम पर्व आदिबासीको पहिचान हो ः शाह
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १० गते । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ स्थित धर्मबेलस कुम्बा मन्दिर प्राङ्गणमा उराँव समुदायको राष्ट्रिय करम पर्व भव्यताका साथ सम्पन्न भएको छ । सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुदै संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार शाहले उराँव समुदायको मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षणमा राज्यका सबै तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री शाहले नेपाल विभिन्न भाषा, संस्कृति र समुदायको साझा फूलबारी भएको बताउनुहुँदै उराउ समुदायको पहिचान, हकहित र सांस्कृतिक सम्पदाको जगेर्नाका लागि सरकार सदैव सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहदेखि संघसम्मका संरचनामार्फत अल्पसङ्खयक तथा आदिवासी समुदायको हकअधिकार सुरक्षित गर्न ठोस पहल भइरहेको उल्लेख गर्नुभयो । सम्बोधनकै क्रममा फरक प्रसङ्गमा मन्त्री शाहले बजारमा इन्धन तथा ग्यासको सहज आपूर्तिबारे नागरिकलाई आश्वस्त पार्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण उपभोक्तालाई बिनाअवरोध ग्यास तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो । जुनसुकै परिस्थितिमा पनि ग्यास आपूर्ति प्रणालीलाई सुचारु राख्न र सर्वसाधारणलाई कुनै सास्ती हुन नदिन सरकार लागिपरेको उहाँले प्रस्ट पार्नुभयो । उराँव समुदायको महान् सांस्कृतिक पर्व करमका अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा उराँव समुदायका नागरिकहरूको उपस्थिति रहेको आयोजक नेपाल झाँगड (उराव) यवा मोर्चा, कुडुख भाषा साँस्कृतिक उत्थान मञ्चले जनाएको छ ।

कार्यक्रम राष्ट्रिय करम पर्व व्यवस्थापन समितिका अध्यक्ष बिर्शुलाल उराँवको अध्यक्षतामा सम्पन्न भएको मोर्चाका अध्यक्ष देवनारायण उराँवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतापूर्ण सामाजिक संरचनाभित्र अति सीमान्तकृत झाँगड (उराँव) आदिवासी समुदायले परम्परागत रूपमा मनाउँदै आएको राष्ट्रिय करम पूजा पर्व हाम्रो मौलिक धर्म, संस्कार, संस्कृति, प्रकृति तथा सामुदायिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो । ” उहाँका अनुसार करमको अवसरमा झाँगड (उराँव) समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति तथा ऐतिहासिक पहिचानको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले राष्ट्रिय करम पर्वमा विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

