​अनिल श्रेष्ठ

इनरुवा, सुनसरी

। परिवर्तनका लागि हामी (WE FOR CHANGE) अभियानको आयोजनामा सुनसरीको इनरुवा नगरपालिका–६, मधेशाका नवयुवाहरूलाई लक्षित गरी आयोजना गरिएको ‘क्यारियर गाइडान्स’ (वृत्ति मार्गदर्शन) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

​युवाहरूको क्षमता विकास, उज्ज्वल भविष्यको खोजी तथा सही पेशागत मार्ग पहिल्याउन सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम ईवेश डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो।

​कार्यक्रममा मौसम कोइरालाले क्यारियर गाइडान्ससम्बन्धी अवधारणात्मक तथा व्यावहारिक विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्र प्रस्तुत गर्दै उहाँले सही समयमा सही क्यारियरको छनोट गर्न सके युवाहरूले आफ्नो र समाजको भविष्य निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्ने बताउनुभयो।

​कार्यक्रममा सहभागीका तर्फबाट डा. दिवस कार्की र शुशान्त रिजालले आफ्ना विचार व्यक्त गर्नुभएको थियो। उहाँहरूले यस्ता मार्गदर्शन कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरका नवयुवाहरूमा स्पष्ट दृष्टिकोण निर्माण गर्न र लक्ष्य निर्धारणमा ठूलो मद्दत पुर्‍याउने धारणा राख्नुभयो। सो क्रममा उपस्थित नवयुवाहरूले प्राप्त ज्ञान र सीपलाई आफ्नो जीवनमा व्यावहारिक रूपमा लागू गर्ने र आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि प्रतिबद्ध भएर लाग्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

​कार्यक्रमको समापन गर्दै लोकेश निरौलाले उपस्थित सम्पूर्ण अतिथि, कार्यपत्र प्रस्तुतकर्ता तथा सहभागी नवयुवाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। परिवर्तनका लागि हामी अभियानले आगामी दिनहरूमा पनि युवा लक्षित यस्ता सिर्जनशील र रूपान्तरणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।