नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सुनसरी-४ बाट पेशागत विज्ञ क्लस्टरमा अधिवक्ता ढकालको उम्मेदवारी
अनिल श्रेष्ठ , सुनसरी।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नम्बर ४ मा चुनावी गतिविधि तथा नयाँ नेतृत्वको चर्चा तीव्र बनेको छ। यसै क्रममा सुनसरी क्षेत्र नम्बर ४ बाट पेशागत विज्ञ क्लस्टरअन्तर्गत अधिवक्ता राजु ढकालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। लामो समयदेखि वकालत तथा सामाजिक-राजनीतिक क्षेत्रमा सक्रिय ढकालको उम्मेदवारीसँगै स्थानीय वृत्तमा नयाँ उत्साह छाएको छ।
२८ वर्षको कानुनी अनुभव र व्यावसायिक पहिचान
अधिवक्ता राजु ढकाल कानुन क्षेत्रका एक परिचित र अनुभवी व्यक्तित्व हुनुहुन्छ। विगत २८ वर्षदेखि निरन्तर कानुन व्यवसायमा क्रियाशील ढकालले सुनसरी बार एसोसिएसनको अध्यक्षको रूपमा सफल नेतृत्व सम्हालिसक्नुभएको छ। हाल उहाँ नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) को पार्षद सदस्यका रूपमा कानुनी क्षेत्रको व्यावसायिक हकहित र सुशासनका लागि क्रियाशील रहँदै आउनुभएको छ।
विद्यार्थी राजनीतिदेखि पार्टीको जिल्ला नेतृत्वसम्म
ढकालको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु राजनीति तथा नेविसंघको क्याम्पस सभापतिको जिम्मेवारी सम्हालेका ढकाल अध्ययनशील र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ। २२ वर्षअघि नै नेपाली कांग्रेस सुनसरीको जिल्ला कार्यसमिति कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएका उहाँसँग पार्टी संगठन, स्रोत व्यवस्थापन र कार्यकर्ता परिचालनको दीर्घ अनुभव छ।
सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय
राजनीति र वकालतबाहेक सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ। ढकाल हाल सुनसरी क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष तथा उपभोक्ता मञ्च सुनसरीको अध्यक्षका रूपमा सर्वसाधारणको हकहित र गुणस्तरीय शिक्षाका पक्षमा निरन्तर क्रियाशील हुनुहुन्छ।

उम्मेदवारीले पार्टीमा थपियो नयाँ ऊर्जा
बौद्धिक, शालिन र कानुनका ज्ञाता मानिने अधिवक्ता ढकालको उम्मेदवारीले सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ र ऊर्जावान बनाउने विश्वास कार्यकर्ताहरूले लिएका छन्। पेशागत विज्ञता, स्वच्छ छवि र निष्ठावान राजनीतिक पृष्ठभूमिका कारण उहाँको पक्षमा क्षेत्रीय प्रतिनिधि तथा कार्यकर्ताहरूको आकर्षण बढ्दै गएको देखिन्छ।
