ममता कुमारी यादव

इनरुवा, असोज ११ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित उराउ टोलमा उराँव (झागड) समुदायले आफ्नो परम्परागत तथा सांस्कृतिक पर्व कर्मा धर्म अर्थात् कर्म पूजा हर्षोल्लास र सांस्कृतिक भव्यताका साथ मनाएका छन्।

​प्राकृतिक विपत्तिबाट रक्षा, भाइबहिनीको दीर्घायु, सुख–शान्ति एवं कृषि उब्जनीमा समृद्धिको कामना गर्दै उराउ समुदायले यो पर्व मनाउने गर्दछन्। कर्म पूजाका अवसरमा उराउ टोलमा विशेष पूजाअर्चनाका साथै परम्परागत भेषभूषामा सजिएका युवायुवती तथा महिला–पुरुषहरूले दिनभरि व्रत बसी रातभर सामूहिक लोकनृत्य र गीत प्रस्तुत गरेका थिए।

​उराउ समुदायका अगुवा समाजसेवी प्रेमनारायण उराउका अनुसार कर्म पूजा उराउ जातिको मौलिक पहिचान र प्रकृतिसँग जोडिएको मुख्य पर्व हो। “हामीले परापूर्वकालदेखि नै प्रकृति, वनस्पति र भ्रातृत्वको सम्मान गर्दै यो पर्व मनाउँदै आएका छौँ,” उहाँले भन्नुभयो।

​त्यसैगरी अर्का स्थानीय अगुवा प्रेमलाल उराउले कर्म पूजाले समुदायमा आपसी एकता, भाइचारा र सांस्कृतिक जीवन्तता कायम राख्न ठूलो सहयोग पुर्‍याएको बताउनुभयो। पर्वको धार्मिक तथा सांस्कृतिक पक्षबारे जानकारी दिँदै स्थानीय सोभिता उराउले कर्म रुखको हाँगालाई पूजास्थलमा स्थापना गरी विधिपूर्वक पूजापाठ गरिने र दिदीबहिनीहरूले भाइको सुख-समृद्धिको कामना गर्दै उपवास बस्ने परम्परा रहेको जानकारी दिनुभयो।

​उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका कोशी प्रदेशका संस्थापक सदस्य एवं गोर्खापत्र दैनिकका जिल्ला समाचारदाता जयकृष्ण यादवको समेत सहभागिता रहेको थियो। समाचारदाता यादवले उराउ टोलमै पुगेर सम्पूर्ण उराउ समुदायलाई पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो। सो क्रममा उहाँ उराउ समुदायको परम्परागत सामूहिक नृत्यमा समेत सहभागी भई उनीहरूसँगै खुसी साटासाट गर्नुभएको थियो।

​सांस्कृतिक सद्भावको प्रतीक बनेको उक्त पूजा तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न इनरुवा–९ का शाह, मेहता, यादव लगायत विभिन्न समुदायका सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। विभिन्न जाति र समुदायका मानिसहरूले उराउ समुदायको मौलिक नृत्य तथा पूजा विधिको चासोपूर्वक अवलोकन गर्दै सांस्कृतिक सहअस्तित्वको उत्कृष्ट नमुना प्रस्तुत गरेका छन्।