जजन्युज। ​सुनसरी
नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा अपांगता कोटातर्फको महाधिवेशन प्रतिनिधि चयनलाई लिएर विवाद र असन्तुष्टि सतहमा आएको छ।
​अपांगता भएका व्यक्तिहरूका लागि आरक्षित कोटामा गैर-अपांगता भएका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीका अपांगता भएका नेता तथा कार्यकर्ताहरूले कडा आपत्ति जनाएका छन्।
​उक्त कोटाबाट महाधिवेशन प्रतिनिधि पदका लागि कुल ३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ता गराउनेहरूमा खुबलाल चौधरी, रमेश पोखरेल र रन्जेश भट्टराई रहेका छन्। तर, दर्ता भएका ३ जनामध्ये १ जना भने पूर्ण रूपमा सक्षम (गैर-अपांगता भएको) व्यक्ति रहेको दाबी गरिएको छ
​पार्टीका अपांगता भएका नेता खुबलाल चौधरीका अनुसार, अपांगता भएका समुदायको अधिकार र प्रतिनिधित्व खोस्ने गरी गैर-अपांग व्यक्तिलाई यस कोटामा मनोनयन वा उम्मेदवारी दर्ता गराउन लगाइएको छ। वास्तविक अपांगता भएका व्यक्तिहरूको हक-अधिकार कुण्ठित हुने गरी गरिएको यस्तो कार्यप्रति उनले गम्भीर गुनासो र असन्तुष्टि व्यक्त गरेका छन्।
​लक्षित वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न बनाइएको नियमको धज्जी उडाउँदै शक्ति र पहुँचका भरमा गैर-अपांगलाई कोटामा हुलेको भन्दै क्षेत्रीय प्रतिनिधिहरूबीच पनि यसबारे तीव्र बहस र विरोध सुरु भएको छ। वास्तविक अपांगता भएका उम्मेदवारलाई मात्र सो कोटामा प्रतिस्पर्धा गर्न दिनुपर्ने माग दाबीकर्ताहरूको रहेको छ।