​इनरुवा — सुनसरीको सदरमुकाम इनरुवा लगायत देशैभरका मधेशी तथा थारु समुदायका महिलाहरूले आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य र परिवारको कल्याणको कामना गर्दै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जितिया पर्व हर्षोल्लासका साथ सुरु गरेका छन्।

​सन्ततिप्रतिको अगाध स्नेह र ममताको प्रतीक मानिने यो पर्वमा महिलाहरूले कठिन एवं निराहार (पानीसम्म नपिई) व्रत बस्ने गर्दछन्। पर्वको पहिलो दिन ‘नाहा खा’ (नहाएर खाने) विधिबाट सुरु भई दोस्रो दिन मूल व्रत बस्ने र तेस्रो दिन पारण गर्दै पर्वको समापन गरिन्छ।

​पर्वको अवसरमा इनरुवालगायत आसपासका नदी, पोखरी तथा जलाशयहरूमा बिहानैदेखि श्रद्धालु महिलाहरूको घुइँचो लागेको छ। सामूहिक रूपमा पूजापाठ गर्ने, जितिया व्रतकथा सुन्ने र जितवाहन देवको आरधना गर्ने परम्परा अनुसार महिलाहरू पर्व मनाउन व्यस्त देखिएका छन्।

​जितिया पर्वले समुदायमा सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक निरन्तरतालाई अझ मजबुत बनाएको स्थानीयवासीहरू बताउँछन्।