सुनसरीमा हर्सोल्लासका साथ जितिया सम्पन्न, सतैरझोरामा जितिया महोत्सव, लोकसंस्कृति र परम्परा संरक्षणमा जोड
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १८ गते । सुनसरीका महिलाहरुले हर्सोल्लासका साथ जितिया सम्पन्न गरेका छन् । तीन दिनसम्म मनाईने जितिया पर्व तथा पुजा वर्त र सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेका हुन् । जितियको अवसरमार गढी गाउँपालिका स्थित सतैरझोरामा जितिया महोत्सव आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुले लोकसंस्कृति र परम्परा संरक्षणमा जोड दिएको सुनसरीको गढी गाउँपालिका वडा नम्बर ५ का वडा सचिव श्याम साहले जानकारी दिनुभयो । सत्तरझोरामा जितिया पर्वको अवसरमा आयोजना गरिएको ‘जितिया महोत्सव तथा जितिया पूजा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको हो । स्थानीय सरदार बातर महिला समूहको आयोजना तथा सरदार समुदायको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न भएको सरकार अगुवा महिला पुनिता सरदारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुदै गढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदारले जितिया पर्वले मधेसी तथा आदिवासी थारु र सरदार महिलाहरूको सांस्कृतिक पहिचानलाई उच्चा बनाएको बताउनुभयो । उहाँले स्थानीय संस्कृति, परम्परा र अमूर्त सम्पदाको संरक्षण तथा संवद्र्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा आपसी भाइचारा र सांस्कृतिक ऐक्यबद्धता बढाउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार जयकृष्ण यादवले जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे प्रकाश पार्दै गाउँघरमा लुकेर रहेका लोकसंस्कृति र परम्परालाई राष्ट्रिय तहसम्म चिनाउन सञ्चार क्षेत्रले सधैं सकारात्मक भूमिका खेल्ने बताउनुभयो । यसैगरी, कार्यक्रममा स्थानीय वडा सदस्य, समाजसेवी श्यामसुन्दर सरदार, समाजसेवी प्रीति सरदार, कुन्ती सरदार लगायतका सरोकारवालाहरूले आफ्ना भनाई राख्दै जितिया पर्वले मातृशक्तिको पूजा–आराधनासँगै परिवारको समृद्धि र दीर्घायुको कामना गर्ने परम्परालाई जीवन्त राखेको बताउनुभयो । वक्ताहरूले सरदार बातर समुदायको भाषा, संस्कृति र परम्परालाई जोगाउन युवा तथा महिला पुस्ताको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

स्थानीय सरदार बातर महिला समूहको विशेष व्यवस्थापनमा आयोजित सो सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार तथा महिलाहरूले परम्परागत जितिया गीत, नृत्य तथा झाँकीहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, भद्रभलादमी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

१, सुनसरीको गढी ५ मा सरदार बातर महिला समूहको आयोजना तथा सरदार समुदायको अगुवाइमा भइको सांस्कृतिक कार्यक्रममा अभिनय गर्दै तथा जातीय पोशाकमा किसोरी तथा सरकार महिलाहरु ।


२, सरदार समूहले गरेको कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
