जजन्युज समाचारदाता

​इनरुवा ।

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री, आधुनिक र समयसापेक्ष बनाउने उद्देश्यका साथ जिल्ला प्याब्सन सुनसरीको आयोजनामा सञ्चालित ‘शैक्षिक क्षेत्रमा AI (कृत्रिम बुद्धिमत्ता) प्रविधिको प्रयोग’ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

​अध्यापन, विद्यालय व्यवस्थापन तथा प्रशासनिक कार्यमा AI को प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका प्याब्सन आबद्ध विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालक एवम् सह-सचिव मनोजकुमार यादवले जानकारी दिनुभयो।

​दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको कार्यक्रमको पहिलो दिन दुहबी, इटहरी र बराहक्षेत्रका साथै दोस्रो दिन इनरुवा, धरान, गढी, रामधुनी र कोशी गाउँपालिकाका सदस्य विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए।

​दुवै दिनका कार्यक्रमको अध्यक्षता जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले गर्नुभएको थियो। कार्यक्रमको पहिलो दिन पूर्व केन्द्रीय सदस्य शैलेन्द्रप्रकाश अधिकारी र दोस्रो दिन पूर्व जिल्ला कार्यसमिति सल्लाहकार मुगाधन राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। वरिष्ठ उपाध्यक्ष रमेश कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन पहिलो दिन जिल्ला उपाध्यक्ष गणेश भण्डारी तथा दोस्रो दिन सह-सचिव मनोजकुमार यादवले गर्नुभएको थियो।

​तालिममा ING IMPACT काठमाडौँका डाइरेक्टर गोविन्द थापाले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई AI का आधुनिक उपकरण र तिनको व्यावहारिक प्रयोगबारे सहजीकरण गर्नुभएको थियो।

​तालिम अवधिभर सहभागीहरूलाई ChatGPT लगायतका Generative AI उपकरणको प्रयोग, डिजिटल पाठयोजना, शिक्षण सामग्री, प्रश्नपत्र तथा मूल्याङ्कन ढाँचा निर्माणका विषयमा प्रयोगात्मक अभ्यास गराइएको आयोजकले जनाएको छ। त्यस्तै, विद्यार्थीको सिकाइ विश्लेषण, विद्यालयको प्रशासनिक एवम् अभिलेख व्यवस्थापन, समय व्यवस्थापन र अनुसन्धानमा आधारित शिक्षणका साथै AI प्रयोग गर्दा अपनाउनुपर्ने डिजिटल सुरक्षा, गोपनीयता र नैतिकता जस्ता विषयमा समेत व्यावहारिक प्रशिक्षण दिइएको सह-सचिव यादवले बताउनुभयो।

​कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपाल निरौला, जिल्ला कार्यसमिति सदस्यहरू तथा विभिन्न नगर र गाउँ प्याब्सनका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

​तालिमबाट प्राप्त ज्ञान र सीपले विद्यालयको शिक्षण–सिकाइ, प्रशासनिक कार्य र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने सहभागीहरूले बताएका छन्। जिल्ला प्याब्सन सुनसरीले आगामी दिनमा पनि विद्यालय शिक्षालाई प्रविधिमैत्री, अनुसन्धानमुखी र आधुनिक शिक्षण प्रणालीसँग जोड्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।