जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १९ गते । सुनसरीको इनरुवाबाट भारी परिमाणको लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट ठूलो परिमाणको गाँजा र ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको हो । आईतबार राति ११ः५० बजेको समयमा अस्थायी प्रहरी पोष्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाको संयुक्त चेकिङ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो । ट्रकभित्र बन्दागोभीले ढाकेर लुकाइछिपाई ल्याइएको ८३ वटा बोरामा रहेको लागूऔषध गाँजा फेला परेको हो । उक्त गाँजा तौल गर्दा दुई हजार पाँच सय छैसठ्ठी किलो पाँच सय साठ्ठी ग्राम रहेको प्रहरीले जनाएको छ । गाजाँ सहित पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय ट्रक चालक राजु राई र सोही ठाउँका १८ वर्षीय सहचालक सन्दीप राई रहेका छन् । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइएको गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । यती ठूलो परिमाणमा लागूऔषध गाजाँ बरामद भएको सुनसरीको इतिहासमै पहिलो पटक भएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो ।


१, सुनसरीको इनरुवाबाट भारी परिमाणको लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गर्दै ।
तस्विर ः