​अनिल श्रेष्ठ /ईनरुवा (सुनसरी)
​चाडपर्व तथा आमउपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सुनसरीको सदरमुकाम ईनरुवास्थित बजारमा सरोकारवाला निकायहरूको संयुक्त टोलीले साेमबार सघन बजार अनुगमन गरेको छ। बजारमा अखाद्य तथा म्याद गुज्रेका सामग्रीको बिक्री वितरण भइरहेको जनगुनासो बढेपछि प्रशासन र स्थानीय निकायको सक्रियतामा यो कदम चालिएको हो।
​अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत राकेश मण्डल, जिल्ला प्रशासन कार्यालय सुनसरीका ठकिन्द्र राज दाहाल, ईनरुवा नगरपालिकाका तर्फबाट कुमारी भट्टराई र गीता सुवेदीको उपस्थिति रहेको थियो। त्यसैगरी निजी क्षेत्र र उपभोक्ता अधिकारको प्रतिनिधित्व गर्दै ईनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटल, कोषाध्यक्ष उमेश गुप्ता तथा उपभोक्ता मञ्च नेपाल ईनरुवाका अध्यक्ष शंकर नाथ महाजु लगायत सुरक्षाकर्मी र पत्रकारहरूको संयुक्त सहभागिता रहेको थियो।


​अनुगमनका क्रममा बजारका विभिन्न किराना दुकान, खाद्यान्न गोदाम, डेरी तथा तरकारी बजारको प्रत्यक्ष निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका, अखाद्य तथा गुणस्तरहीन उपभोग्य वस्तुहरू भेटिएपछि टोलीले ती सामानहरू नियन्त्रणमा लिई सार्वजनिक रूपमा नष्ट गरेको छ।
​अनुगमन टोलीका अनुसार व्यवसाय दर्ता नगरिएका, नवीकरण नगरिएका तथा पसलमा मूल्यसूची नराखेर मनोमानी ढङ्गले व्यापार सञ्चालन गरिरहेका केही व्यवसायीहरूलाई नियमानुसार जरिवाना समेत गराइएको छ। त्यसैगरी, पहिलो पटक सामान्य त्रुटि भेटिएका र सरसफाइमा ध्यान नदिने साना व्यापारीहरूलाई भने तत्काल सुधार गर्न कडा चेतावनी दिँदै सचेत गराइएको छ।
​खाद्य अनुसन्धान अधिकृत राकेश मण्डलले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्यान्न तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै सम्झौता नगरिने बताउनुभयो। उहाँले भन्नुभयो, “नियमित अनुगमन अभावको फाइदा उठाउँदै अखाद्य वस्तु बिक्री गर्ने छुट कसैलाई छैन। कानुनी मापदण्ड पालना नगर्ने व्यवसायीमाथि थप कडा कारबाही गरिनेछ।”
​यस्तै, उपभोक्ता मञ्च नेपाल ईनरुवाका अध्यक्ष शंकर नाथ महाजुले चाडपर्वका बेला मात्र नभई बजारलाई मर्यादित र स्वच्छ बनाउन वर्षैभरि यस्ता अनुगमन टोली सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
​उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले पनि प्रशासनको यस कदमलाई सहयोग गर्दै सही र स्वच्छ व्यापार सञ्चालन गर्न सम्पूर्ण उद्योगी-व्यवसायीहरूलाई आग्रह गरेका छन्। अनुगमनपछि स्थानीय उपभोक्ताहरूले अनुगमन टोलीको कार्यप्रति खुशी व्यक्त गर्दै यस्ता निरीक्षण कार्यलाई निरन्तरता दिन माग गरेका छन्।