विराटनगर / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगै लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी क्षेत्रमा कार्यरत सहसचिव चक्रबहादुर बुढामाथि अकुत सम्पत्ति आर्जन तथा आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

बुढाले सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

भ्रष्टाचारविरुद्धका अभियन्ता खगेन्द्र बुढाले अख्तियारमा दिएको उजुरीमा बुढाको सम्पत्ति छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ । आरक्षण कोटाबाट अधिकृत, उपसचिव हुँदै सहसचिव भएका बुढा शक्तिकेन्द्रहरुलाई प्रभावमा पारेर सचिव हुने कसरतमा लागेको स्रोतको भनाइ छ । उनी विभिन्न आकर्षक ठाउँमा पोष्टिङ हुँदै अकुत सम्पत्ति आर्जन गरेको उजुरीकर्ताको दाबी छ ।

उजुरीअनुसार हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सहसचिव बुढा समाज कल्याण परिषद्का निमित्त सदस्य सचिवसमेत हुन् । उनी नेपाल सरकारको अधिकृतदेखि सहसचिवसम्मको सेवायात्रामा विभिन्न आकर्षक तथा महत्वपूर्ण जिम्मेवारीमा बसेको उजुरीमा उल्लेख छ ।

बुढाले सरकारी सेवामा रहँदा भन्सार विभाग, पर्यटन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अर्थ मन्त्रालयको बजेट महाशाखा, गृह मन्त्रालयको प्रशासन महाशाखा तथा मकवानपुरको प्रमुख जिल्ला अधिकारीलगायतका जिम्मेवारी सम्हालेको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीकर्ताले बुढाले आफूभन्दा कनिष्ठ कर्मचारीलाई परिचालन गरी विभिन्न कार्यालय तथा निकायमा आर्थिक अपचलन गरेको आरोप लगाएका छन् । सहसचिव भएपछि समेत विभिन्न जिम्मेवारीमा रहँदा आर्थिक अनियमितता गरेको दाबी उजुरीमा गरिएको छ ।

समाज कल्याण परिषद्को निमित्त सदस्य सचिवका रूपमा कार्यरत रहँदा विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, धार्मिक संघसंस्था, गुम्बा, मदरसा तथा ख्रीष्टियन संघसंस्थासँग सम्बन्धित परियोजनामा समेत अनियमितता गरेको आरोप लगाइएको छ

उजुरीमा केही संस्थाले कर्मचारी खराज रेमी र इन्दु नेपाल शर्मामार्फत रकम बुझाएपछि मात्रै परियोजनाका फाइल सदर गराउने गरेको आरोपसमेत लगाइएको छ । परियोजना स्वीकृति, अनुगमन तथा निरीक्षणका क्रममा रकम उठाउने र स्वीकृत रकमसमेत तोकिएअनुसार भुक्तानी नगरी थप रकम माग्ने गरेको दाबी गरिएको छ ।

उजुरीकर्ताका अनुसार अनुचित रकम नदिने संस्थाको परियोजना अस्वीकृत गराउने, फाइल रोक्ने तथा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने गरिएको थियो ।

त्यस्तै, स्वीकृत भइसकेको परियोजनामा समेत ‘स्वीकृत’ शब्दको अगाडि ‘अ’ थपेर ‘अस्वीकृत’ लेखी परियोजना रोक्ने तथा सेवाग्राहीलाई थप रकम दिन दबाब दिने गरेको आरोप उजुरीमा उल्लेख छ ।

उजुरीमा बुढाले सरकारी जिम्मेवारीको दुरुपयोग गरी आफू, आफ्ना आफन्त तथा परिवारका सदस्यका नाममा विभिन्न स्थानमा जग्गाजमिन खरिद गरेको र विभिन्न कम्पनीको नाममा समेत सम्पत्ति जोडेको दाबी गरिएको छ ।

उजुरीकर्ताले बुढाको सम्पत्ति, बैंकिङ कारोबार, जग्गाजमिन, कम्पनी तथा आफन्तका नाममा रहेको चल–अचल सम्पत्तिसमेत छानबिन गर्न माग गरेका छन् ।

सरकारी पदमा रहँदा अख्तियारको दुरुपयोग गरी आर्थिक लाभ लिएको र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गम्भीर भएकाले बुढाको सम्पूर्ण सम्पत्तिको स्रोत खोजी गरी अनुसन्धान गर्न उजुरीमा आग्रह गरिएको छ ।

उजुरीमा सरकारी निकायको नेतृत्वदायी जिम्मेवारीमा पुगेका कर्मचारीले पद र पहुँचको दुरुपयोग गरी राज्यलाई आर्थिक क्षति पुर्‍याएको आरोप लगाउँदै त्यस्ता गतिविधिमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न अख्तियारसँग माग गरिएको छ ।