इनरुवा, असोज २३ गते । सुनसरी जिल्ला अस्पातलमा विभेद र दुव्र्यवहार गरेर बाहिर पठाएको एक दलित महिलाले कोशी अस्पतानको अस्पतालको ढोकासम्म पुग्दा पनि समयमा उपचार नपाएर गेटमै बच्चा जन्माउन बाध्य भएको घटना बाहिर आएको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ निवासी लालु सदाकी २४ वर्षीया पत्नी सर्मिला कुमारी सदामाथि अस्पातलमा विभेद र दुव्र्यवहार गरेको घटनाका बारेमा घरमा पुगेर कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले लुगा तथा खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको छ । अति विपन्न परिवारकी सर्मिलाले स्वास्थ्य संस्थाको लापरवाही र ढिलासुस्तीका कारण अस्पतालको गेटमै शिशुलाई जन्म दिनुपरेको समाचार सार्वजनिक भएपछि राज्यमन्त्री परियार उहाँको निवासमै पुग्नुभएको हो । सदा दम्पतीलाई भेटेर उहाँले व्यक्तिगत तर्फबाट राहत स्वरूप खाद्यान्न तथा बच्चा र आमाका लागि आवश्यक कपडाहरू प्रदान गर्नुभयो । सहयोग हस्तान्तरण गर्दै राज्यमन्त्री सपना परियारले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्नुभयो । “गरिब र पहुँचविहीन भएकै कारण कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने र यस्तो अमानवीय अवस्था भोग्नुपर्ने स्थिति लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन,” मन्त्री परियारले भन्नुभयो, “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भएको यो गम्भीर लापरवाहीबारे म प्रदेश सरकार र सम्बन्धित निकायमा कुरा उठाउँछु । दोषी देखिएका स्वास्थ्यकर्मी वा गैरजिम्मेवार कर्मचारीमाथि छानबिन गरी कडा कारबाही गराउन म पहल गर्नेछु । ” उहाँले पीडित परिवारलाई आमा र बच्चाको स्वास्थ्योपचारमा प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने आश्वासन पनि दिनुभयो ।


यता पीडित लालु सदा र सर्मिला कुमारी सदाले भने राज्यमन्त्री घरमै आएर दुःखमा साथ दिएकोमा धन्यवाद व्यक्त गरे पनि आफूहरूमाथि ठूलो अन्याय भएको गुनासो गरेका छन् । “हामी दलित त्यसमाथि गरिब छौँ, अस्पताल पुग्दा पनि समयमा डाक्टर र नर्सले हेरिदिएनन् । अस्पतालको गेटमै बच्चा जन्मियो, त्यो समयमा जे पनि हुन सक्थ्यो, ” पीडित सर्मिलाले भन्नुभयो ।
पति लालु सदाले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भन्दै दोषीलाई कारबाही र आमा–बच्चाको सम्पूर्ण उपचार निःशुल्क हुनुपर्ने माग गर्नुभयो। “मन्त्रीज्यू आएर सहयोग गर्नुभयो, तर हामीलाई आश्वासन मात्र होइन न्याय चाहियो । भोलि अरू कुनै दलित तथा गरिबको महिलाले यसरी अस्पतालको गेटमा बच्चा जन्माउनु नपरोस् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ, ” उहाँले भन्नुभयो ।
अस्पताल जस्तो संवेदनशील ठाउँमा घटेको यस घटनाले सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाह र गरिब नागरिकप्रतिको दृष्टिकोणमाथि पुनः गम्भीर प्रश्न उठाएको छ । स्थानीयवासीले पनि घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई पूर्ण क्षतिपूर्तिसहित निःशुल्क स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न माग गरेको स्थानीय अधिकारकर्मी फुलकुमारी रामले बताउनुभयो । उता सुनसरी जिल्ला अस्पताल इनरुवाका निमित प्रमुख डा. सन्तोश शाहले घटनाका बारेमा छानविन गर्न एउटा समिति बनाउने प्रतिकृया दिनुभयो । उहाँले छानविन समितिको प्रतिवेदन आए सोही अनुसार दोषीलाई कार्वाही गर्ने प्रतिकृया दिनुभयो ।
्