इनरुवा, कात्तिक ३० गते । सुनसरीमा मतदाता शिक्षा केही स्थानीय तहमा प्रभावकारी भएपनि केही ठाउँमा प्रभावहिन बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको पूर्व संध्यामा बदर मत कम गर्ने उदेश्यले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकामा प्रभावकारी भएपनि अन्य स्थानीय तहमा कागजमै सिमित बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
इनरुवामा १० वटै वटामा प्रत्येक वडामा तीन जनाका दरले मतदाता शिक्षा सहजकर्ता परिचालन भएकाले प्रभावकारी भएको इनरुवा नगरपालिकाका इन्जिनियर तुलसी यादवले जानकारी दिनुभयो ।
हरिनगर गाउँपालिकामा पनि सात वटै वडामा तीन जनाका दरले मतदाता शिक्षा सहजकर्ता परिचालन भएको र उनीहरुले मंसिर २ गतेसम्म प्रभावकारी रुपमा मतदाता शिक्षा दिने भएको गाउँपालिकाका योजना शाखा प्रमुख रमेश स्वर्णकारले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले १२ वटै स्थानीय तहहरुले आआफ्नो वडामा गरि १२४ वटै वटामा मतदाता शिक्षा सहयोगी तथा सहजकर्ता परिचालन गरेर प्रभावकारी रुपमा मतदाता शिक्षा चलाईरहेको जानकारी दिनुभयो ।
उता जिल्लाको शहरी क्षेत्रसँगै ग्रामिण क्षेत्रहरुमा समेत मतदाता शिक्षा कतै प्रभावकारी र कतै सहजकर्ताहरु फिल्डमा नआएको गुनासो मतदताहरुले गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को लागि मतदाता शिक्षा कार्यक्रम निर्देशिका प्रस्तावनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनका विषयमा आममतदातालाई सुसूचित गर्नुपर्नेमा अहिले सम्म मतदाताहरु मतदाता शिक्षा अभावमा अन्यौलता रहेको कोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय मनोज यादवले बताउनुभयो ।
स्थानीय मतदाता यादवले बैसाखमा भएको स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम कागजमै सिमित पारेका बदर मत बढेको र फेरी पनि मतदाता शिक्षा कार्यक्रम नभएको कारण मतदाताहरुमा अन्यौलमा रहेको गुनासो गर्नुभयो । मतदाता शिक्षा कार्यक्रम कागजमै सिमित पारेको कारण फेरी पनि बदर मत बढ्ने नेपाल पत्रकार महासंघका सदस्य दिपेन्द्र यादवको गुनासो छ ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रमका लागि जिल्ला निर्वाचन कार्यालयले पर्चा, पोष्टर, ब्रोसर लगायतका मतदाता शिक्षा सामग्री वितरण तथा टाँस गर्नुपर्ने सामग्री स्थानीय तहलाई जिम्मा लगाएको छ । आयोगले स्थानीयस्तरमा प्रचलित मेला महोत्सव, हाटबजार आदिमा प्रचार प्रसार र सचेतनाको कार्यक्रम गर्नुपर्ने ठाउँमा मतदाताहरुलाई मतदाता शिक्षा प्रभावकारी तबरले दिनुपर्नेमा त्यसतो नभएको अर्का मतदाता हरिनगर गाउँपालिकाका हरिकिसुन मण्डलले बताउनुभयो ।
नेपालको संविधान, निर्वाचन सम्बन्धी कानून, मतदाता शिक्षा नीति तथा आयोगबाट स्वीकृत मतदाता शिक्षा अवधारणा बमोजिम संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्देशिका समेत जारी गरेको छ । तर सीमावर्ती देवानगञ्ज गाउँपालिका ,बर्जु गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नबनेको स्थानीय मतदाताहरुले गुनासो गरेका छन् ।