उपन्यास “पटाक्षेप”भित्र अग्रज साहित्यकार टीका मिलनज्यू
समीक्षात्मक टिप्पणी :विमला पोख्रेल
—————————————————–

आदरणीय अग्रज साहित्यकार साथै उपन्यासकार टीका मिलनज्यूको कृति “पटाक्षेप” उपन्यास मैलेआधोपान्त अध्ययन गर्ने सु-अवसर पाएँ।मलाई उपहार स्वरूप मिति २०७९-११-१३मा प्रदान गर्नु भएको यो पटाक्षेप उपन्यासमा जम्मा अनुच्छेद संख्या क्रम अठार रहेछ।यश उपन्यासको प्रमुख पात्रमा रामु वैरागी , माया वियोगी,शिवलाल बुढा र रामनाथ नाम उल्लेख गरिएको छ।यसमा विशेष गरेर पहाडी जनजीवन , चार दशक अघिको पञ्चायत कालीन समाज तथा ठूला ठालूमा नाम कहलिएका सम्भ्रान्त ,सामन्तहरूले गरिब,निर्धन ,निमुखा प्रति गरेको भेदभाव ,घृणा ,तिरस्कारको यसमा सुक्ष्म ,गम्भीर तवरले चित्रण गरेको पाइन्छ ।यसमा विकटपुर्वी पहाड धनकुटा ,अरूण नदी आसपासको सेरोफेरोको जनजीवनको चित्रण गरिएको छ।यसमा माया अनि रामुका बीचको बाल्यावस्था ,सामीप्यता,विद्यालयीय जीवन देखि नै गाँसिएको आत्मीयता ,अल्लारे बैसको वर्णन साथै जीवनको संयोग,वियोग ,अस्तित्व ,अपनत्व समेतले यश उपन्यासलाई सिंगारेको मैले पाएँ।

यो उपन्यासको अनुच्छेद १ देखि अनुच्छेद १८ सम्म मैले अध्ययन गर्दा अनुच्छेद १मा रामु र मायाले पढाइ अध्ययनमा दिलचस्पी लगाएको ,विद्यालयमा दस कक्षामा राम्रो मार्क पाई सफलता प्राप्त गर्दा सबै मान्यजन ,आफन्त तथा
गुरूजनबाट पढाइमा उत्कृष्ट हुँदा स्याबासी पाएको तर उच्छृङ्खल डम्बरे भने परीक्षामा अनुत्तीर्ण भई हास्य पात्र हुनुपरेको अवस्थालाई दर्शाइएको पाइन्छ ।अनुच्छेद २मा पुर्वी पहाडमा खेतीपाती गर्न बालीनाली लगाउन गाउँबेसी गर्नुपरेको
टाढाको पधेरोबाट सधैं गाग्रीमा पानी ओसार्नु परेको ,रामु र मायाले एकले अर्कालाई काममा सघाउने गरेको ,हाट,बजार ,मेलापात जहाँपनि रामु ,माया सँगै जाने आउने गरेको ,केसरी र लतासँग पनि सामीप्यता बढेको ,एस.एल.सी . हालको एस.ई.ई. परीक्षा दिनको लागि साथीहरू मिली बजारमा डेरा लिई बसी अध्ययन गर्ने गरेको ,बुबा बिरामी हुनुभएकोले रामुले आफ्नो पढाइ अध्ययन छाडेर बुबालाई हेर्न ,भेट्न गाउँ जानुपरेको ,बुबाको निधन हुँदा रामुले बुबाको सद् गत तथा अन्त्येष्टि गर्नु परेको ,आमापनि अस्वस्थ्यअवस्थामा हुनुभएकोले रामुको मनमा चिन्ता लागेको दु:खद अवस्था चित्रण गरिएको पाइन्छ ।त्यसैगरी उपन्यासको अनुच्छेद ३मा रामुलाई साथी केशरी र मायाले पिताका मृत्युको
मनमा सधैं स्मरण गरेर बस्नु हुँदैन ,संसारमा मानिस भएर जन्म लिएपछि एकदिन मृत्यु पनि हुन्छ ।अब निकटमा हुने एस.एल.सी. परीक्षाका लागि आफ्नो अध्ययन जारी राख भनी सम्झाउने ,सान्त्वना दिलाउने गरेको ,ऋण लागेको भनेर मनमा
चिन्ता लिन नहुने, आफ्नो प्रगतिका पाइला अगाडि चाल्नुपर्ने भन्ने अर्ती सल्लाह दिएको ,विराटनगरको मावलीमा मामासँग भेट गर्न जाँदा कुनै सहयोग नगरी अपहेलना र तिरस्कार गरेको मार्मिक उद् गार समेत यो अनुच्छेदमा पाइन्छ ।
त्यसैक्रमले अनुच्छेद ४लाई नियाल्दा मामाघरबाट
निर्धन भनी तिरस्कृत भई निन्याउरो अनुहारमा पहाड घरतर्फ फर्केका रामु धरानको बाटो हुँदै धनकुटाको फुस्रे र चिउरीबाँस
डाँडा छिचोल्दै घरमा जाँदा आमाको दु:खद मृत्यु भएको ,गाउँलेले आमाको लास आँगनमा तुलसीको मोठ नजिक राखी छोरो रामु आउला भनी पर्खिरहेको अवस्था, टुप्लुक्क रामु घरमा पुगी आमाको मृत्यु वियोगमा तड्पिनु परेको ,आमाको सद् गत गरि बुबा आमाको वार्षिक सिद्धिएपछि रामुको मनमा छट्पटी ,विरक्ति जागी आफ्नो घर छाडी अज्ञात स्थलतर्फ कामको खोजी गरि भौतारिई रहेकोमा थकाइ ,भोक,प्यासले ब्याकुल हुँदा नजिकै बगिरहेको सभा खोला नजिकै रहेको चौरमा रामु टोल्हाई खोलाको पानीलाई
हेरी टोल्हाई बसेको,झमक्क साँझपर्दा झ्याउँकिरी झुनझुनाई रहेका अवस्था ,दुईजना आगन्तुक बदमाश आई रामुलाई हप्काउदा रामु घरतर्फ फिरी जुनेली रात्रिमा घर छेउमा पुगी फूलबारीमा पसी लुकेर बसेको अवस्था ,मायाले रामुको घरमा गई रामुलाई पत्ता लगाई भेट भएपछि माया र रामु रात्रिमा सँगै प्रेम प्रणयमा लट्ठ हुन पुगेको अवस्था ,रामु भने रात्रिमै मायालाई
छाडीअज्ञात स्थलतर्फ हिडेकोमा गाउँका सामन्तीहरूले रामु
बदमाश हो भनी कलंक लगाई छिछी दुरदुर गरेको रामुको सम्पत्तिमा आँखा गाडी अन्यायपूर्ण कार्य गर्न खोजेको यस्तो जालझेल र कपटको ताना बुनामा रामुलाई फसाउन खोजेको जस्ता मनोद् गारहरू अनुच्छेद ४ मा पाइन्छ ।तयसैगरी अनुच्छेद ५लाई अवलोकन गर्दा गाउँका ठालू महाजन भनी गनिएका शोषक ,सामन्तहरूले सीधा ,सोझा माथि गरेको शोषण ,अत्याचार तथा क्रुरतापूर्ण कार्यको भत्सर्ना गरेको पाइन्छ ।अनुच्छेद ६मा तिरिसकेको ऋणको तमसुक चितल नगरी लुकाई राखी रामुको घर जग्गा हडप गर्न तम्सिएको
दुर्ववहार तथा शोषणको निन्दा र भत्सर्ना गरेको पाइन्छ ।
यसैक्रमले अनुच्छेद ७ माआमाबुबाको मृत्युपछि भौतारीदै हिडेका रामुलाई धरान छेउ चतरा लाइनको बाटोमा छोरीमात्र भएका सन्तानमा छोरा नभएका वृद्ध शिवलालले भेटी सोधखोज गरी घरमा लगि छोरो सरह मानी राखेको दयालु अवस्थाको साथै रामुले पनि आफ्नै बुबाआमा सरह ठानी शिवलालाको विभिन्न काममा सरिक भई कार्य गरेको प्रसंगको प्रशंसा गरेको पाइन्छ ।अनुच्छेद ८मा पञ्च ठालूहरूले गर्ने गरेको शोषण ,दमन ,उचनीच ,विभेद ,अत्याचार
को चित्रण गरेको पाइन्छ ।अनुच्छेद ९मा निर्धन,निमुखालाई गाउँबाट लखेट्न धन सम्पत्ति हडप गर्न ठालू सामन्तहरूले बोक्सा बोक्सीको आरोप लगाउने अपशब्दबाट गाली गलौज गर्ने कलंक लगाउने जस्ता दुर्ववहारको प्रष्ट चित्रण गरेको पाइन्छ ।त्यसैगरी अनुच्छेद १०मा रामु र मायाले एस.एल.सी.परीक्षामा परीक्षा दिन डेरामा बसी गरेको अध्ययन तयारी ,भविष्यमा रामु पाईलट सम्म बन्न सक्ने उद्देश्य ,सोच लिएको भविष्योन्मूख उपलब्धि ,लगनशीलतालाई उजागर गरेको पाइन्छ ।रामु र मायाका बीचको प्रेम प्रणयलाई पनि दर्शाएको पाइन्छ ।अनुच्छेद ११मा गाउँकै भीमे भन्ने पात्रले
जंगलमा कुनै अज्ञात स्त्रीले जन्माएर थाङ्नासँग फालेको शिशु (बालक) लाई दाउरा काट्न गएको बेला रोइरहेको,कुकुरहरूले टोक्न घेरी राखेको अवस्थामा भेटी मनमा दया लागि बोकेर घरमा ल्याई छोरा नभएका शिवलाल बाजेलाई छोरो भनी पाल भनेर जिम्मा दिदा बाजेले रू .५००भीमेलाई दिएको ,त्यो शिशुलाई स्याहार संभार गरेको ,हुर्काएको,शिक्षा दीक्षा दिएको मार्मिक उद् गारहरू उजागर गरेको पाइन्छ ।अनुच्छेद १२मा कुनै अधबैंसे स्त्री जातिको मृतलासको बारेमा गाउँमा हाहाकार भएको ,प्रहरीमा पोलपरी रामनाथ भन्ने पात्र पक्राउ भई प्रहरी कार्यालयबाट रामनाथलाई मृतलासको बारेमा केरकार गरेको
पञ्चायतकालीन समयको दृष्टान्त समेत उजागर गरेको पाइन्छ ।अनुच्छेद १३मा भीमेले जंगलबाट उठाएर शिवलाललाई छोरो
सरह मान भनी पाल्न दिएको शिशुलाई शिवलालले कान्छो छोरो हो भनी मान्ने ,भन्ने गरेको अवस्था ,रामुले भने अध्ययन गर्दै काठमाडौं विश्व विद्यालय क्याम्पसमा परीक्षा दिदा अरू विद्यार्थीको भन्दा परीक्षाफलमा बढी मार्क पाई मान्यजन ,गुरूजनबाट स्याबासी पाएको अवस्थाको चित्रण गरिएको छ।
त्यसैगरी अनुच्छेद १५,१६,१७,१८मा शिवलाल बाजेले पालेका रामु ,भीमेले दिएको बालक केटालाई छोरो सरह मानेको शिवलालले आफ्नो सम्पूर्ण सम्पत्ति पालेको कान्छो छोरो भन्ने पात्रका नाउँमा लेखिदिएको ,अन्त्यमा बुढा शिवलालको मृत्युु भएको ,रामु वैरागी बनी हवाईजहाज दुर्घटनामा परी वीर अस्पतालमा उपचार गराई राखेको ,प्रेमीका
माया वियोगी बनी रामुको दुर्घटनाको कुरा सुनी घरमा मुर्छा परी
बेहोस भएकी यस्तो दुःखदायी, वियोगान्त ,कारूणीक अवस्थाको यसमा चित्रण गरेको पाइन्छ ।यसरी मैले यो उपन्यास अध्ययन गर्दा वास्तवमा मानव जीवनको केही हदसम्म महत्त्व र सार्थकता केहो भन्ने ज्ञान पाएँ।साँच्चै मैले यो उपन्यासका सेरोफेरोलाई अँगालेर भन्नुपर्दा जीवन भनेको ज्ञान,विवेक ,अनुभूतिहरूको संगालो हो भन्छु,जबकि जीवनको स्वतन्त्रतामानै हृदयानुभूतिको विकास हुन्छ ।मानिसको जीवन यात्राका अनेकौं मोडहरूमा कष्ट ,विपत्तिका भड्खालै,भड्खालाहरू हुन्छन् ,जीवनमा मिल्ने कुनै कुराको प्राप्तिले तत्काल क्षणिक आनन्द प्राप्त भएपनि स्थायी आनन्द त मिल्नै सक्दैन ।मान्छेले जीवनको यात्रामा भोक ,तिर्खा, अभिलाषा ,ईष्र्या ,बासना ,अतृप्ति जस्ता दुःखदायी कामनाका भारी बोकेर निस्केको छ,जुन भारी जीवन पर्यन्त पनि विसाउन चाँहदैन।मुर्दा तुल्य समाजमा दुःख पुकार गरेर ,रोएर केही फाइदा छैन ।लोभ र लालचको कवज भिरेर कालो छायाको पूजा र आरति गर्नेहरूको भीडमा दया ,माया र ममताको भीख मागेर पाइदैन ।नकारात्मक दृष्टिकोणले गर्दा नै समाजको अधोगति भएको हामीले देखेका छौँ ।यो उपन्यासमा पनि पञ्चायतकालीन कालो छाया आजसम्म हटी नसकेको कुराको
चित्रण गरेको मेरो मनमा अनुभूत भएको छ।यो उपन्यास उत्कृष्ट छ। उपन्यासकारको सधैं नै कलम अघि बढोस् भन्ने सुभेच्छा सहित विश्राम लिन्छु।
