जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ २४ गते । सुनसरीको गढी गाउँपालिकामा एक वर्षमा चार किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ । स्थानीय नागगरिकको आवश्यकतालाई ध्यानमा राखेर एक वर्षमा चार किलोमिटर सडक कालोपत्रे गरेको र थप चार किलोमिटर कालोपत्रे गर्ने चरणमा रहेको गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले बताउनुभएको छ ।
आफ्नो गाउँपालिकामा योजना तर्जुमाको क्रममा सरोकारबालासंगको अन्तरकृया कार्यक्रममा अध्यक्ष चौधरीले आफ्नो कार्यकालको पहिलो एक वर्षमा चार किलोमिटर सडक कालोपत्रे गरेको बताउनुभयो ।
चौधरीले विकासमा फड्को मार्ने गरि कच्चीबाटोमा ग्राभेल, ग्राभेटमा उच्चस्तरीय ग्राभेल र कालोपत्रेसम्मको काम निरन्तर गर्ने क्रममा चार किलोमिटर कालोपत्रे गरेको बताउनुभयो ।
यसैबीच अध्यक्ष, उपाध्यक्ष सहित सरोकारबालाहरुसंग राउण्ड टेबल कार्यक्रममा बालबालिकाहरुले बालबालिकाका लागि कम्तिमा १० प्रतिशत बजेट छुट्याउन माग गरेकोमा अध्यक्ष चौधरीले प्रतिशतमा यती नै नभएपनि बजेटमा बालबालिकालाई समेटिने प्रतिबद्धता जनाउनुभएको छ । गाउँपालिकामा रहेको बाल सञ्जालले गढी गाउँपालिका अध्यक्ष चौधरीलाई बालबालिकाका लागि बजेट छुट्याउन माग गरेकोमा चौधरीले बालमैत्री र बालबालिका सम्बन्धी ऐन निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
यसअघि गाउँ र वडामा सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउन, बालक्लव गठन तथा पूनरगठन गर्न, संरक्षक शिक्षक, शिक्षक र बालक्लवलाई तालिम प्रदान, क्षमता विकास, साप्ताहिक अतिरिक्त कार्यक्रम सहित क्षमता विकास गर्नका लागि बालबालिकाका लागि बजेट छुट्याउन माग गरिएको गढी बाल क्लवकी अस्मीता चौधरीले जानकारी दिनुभयो । बुधबार गढीमा आयोजित अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत बीच राउण्ड टेबल कार्यक्रम समापनमा बालबालिकाहरुले आफूहरुले वडा तथा विदालयमा बाल भित्तेपत्रिका प्रकाशन तालिम र पुस्तकालय व्यवस्थापन, वडा वाल सञ्जाल व्यवस्थापन, विभिन्न कार्याशाला गोष्ठी लगायत कार्यक्रम गर्नको लागि आग्रह गरेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष अनितकुमारी साहले महिला बालबालिका तथा जेष्ठ नागरिकको सबालमा यस वर्ष बजेट सहित सम्बोधन गर्ने बताउनुभयो । उहाँले बालबालिकाहरूको क्षमता विकासका लागि गाउँपालिकाले सक्दो पहल र कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।


१, सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रममा सरोकारबालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा