सुनसरीको बराहक्षेत्र १ चतरामा सुरु भएको बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । मङ्गलवार राष्ट्रपति पौडेल सुनसरीको वराहक्षेत्रको चतरामा एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्नुभएको हो ।


उद्घाटन गर्नुहुदै पौडेलले धार्मिक पर्यटन र देशको विकासमा महाकुम्भले योग्दान गर्ने विश्वाश व्यक्त गर्नुभयो । उहाँले भारत पछि नेपालमा पहिलो पटक बाह्र बर्षे विण्डेश्वर महाकुम्भको उद्घाटन गर्न पाउदाँ आफू हर्षित भएको बताउनुभयो ।
वराहक्षेत्र वडा नम्बर १ कुम्भ नगरी चतरामा समुद्घाटन गर्ने क्रममा पौडेलले देश विदेशमा चिनाउन र पहिचान स्थापित गर्नका लागि कुम्भले योग्दान गर्ने बताउनुभयो । नेपालको एक मात्र स्थानमा लाग्ने कुम्भ मेला स्थलमा राष्ट्रपति पौडेलले पूजा अर्चना गरी उद्घाटन गर्नुभयो ।


राष्ट्रपति पौडेलले कुम्भ नगरी चतरामा रहेको श्रीराधासर्वेश्वर मन्दिरमा पूजा अर्चना र जगद्गुरु पीठको मुलद्वारमा रहेको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्नुभयो । सोही दिन आचार्य श्रीखेमराज केशव शरण स्मृति भवनको समुद्घाटन गर्नुभयो । राष्ट्रपति पौडेलले कुम्भ स्थल क्षेत्रमा पञ्च कुण्डको परिक्रमा तथा पूजा अर्चना गर्नुभयो ।
बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला चैत २७ गतेदेखि सुरु भएर आगामी वैशाख २८ गतेसम्म धार्मिक मेला लाग्ने भएको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकका तर्फबाट अभिनन्दन पत्रद्वारा नागरिक अभिनन्दन गरिएको आयोजक समितिका सचिव नारायण नेपालले जानकारी दिनुभएको छ ।

अभिनन्दन गर्दै राष्ट्रपतिलाई भव्य स्वागत समेत गरिएका बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले प्रदेश सरकारले सामुहिक र धार्मिक पर्यटनका लागि सहयोग गरेको जानकारी दिनुभयो । सानो जातीय संस्था र मठमन्दिर भन्दा समग्र देशको विकास र पर्यटनमा योगदान गर्ने ठाउँमा मात्रै लगानी गर्ने बताउनुभयो । त्यसैगरी बालसन्त मोहनशरण देवाचार्यले धार्मिक कार्यक्रम र सरकारी तथा र्सावजनिक सम्पती राज्यले नियन्त्रणमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारलाई चतराको जग्गा र संरचना समेत सरकारले आफ्नो अधिनमा लिएर सन्तहरु र धर्म गुरुहरुलाई लिजमा दिनुपर्ने सुझाव दिनुभयो ।