इनरुवा । सुनसरीको गढी गाउँपालिकामा सञ्चालन भइरहेको सामाजिक परीक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ। गढी गाउँपालिकाको सहयोग तथा जजन्यूज मिडिया प्रा.लि., इनरुवा–२, सुनसरीको सहजीकरणमा सञ्चालन भइरहेको सामाजिक परीक्षणअन्तर्गत नागरिक सन्तुष्टि सर्वेक्षण, विषयगत शाखाबाट तथ्यांक संकलन, सेवाग्राहीसँग छलफल तथा सरोकारवालासँग अन्तरक्रियालगायतका कार्य सम्पन्न भएका छन्।


गाउँपालिकाको समग्र सेवा प्रवाह, विकास निर्माण, संस्थागत कार्यसम्पादन, सार्वजनिक सेवा तथा नागरिक सन्तुष्टिको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। यस क्रममा गढी गाउँपालिकाका एक सय जना नागरिकसँग नागरिक सन्तुष्टि सर्वेक्षण गरिएको छ। सर्वेक्षणमार्फत गाउँपालिकाबाट प्रवाह भइरहेका सेवाप्रति नागरिकको धारणा, सेवा प्राप्तिमा देखिएका सहजता तथा कठिनाइ र सुधार गर्नुपर्ने विषयमा जानकारी संकलन गरिएको छ।


त्यसैगरी गाउँपालिकाअन्तर्गतका विभिन्न विषयगत शाखाका प्रमुख तथा जिम्मेवार कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरी आवश्यक तथ्यांक तथा विवरण संकलन गरिएको छ। शिक्षा शाखा प्रमुख छवि खड्का, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र यादव र पशु शाखा प्रमुख कुन्दन यादवसँग सम्बन्धित क्षेत्रका कार्यक्रम, उपलब्धि, सेवा प्रवाह तथा चुनौतीबारे जानकारी लिइएको छ।


यसका अतिरिक्त कृषि शाखा, खानेपानी शाखा, लघु उद्यम विकास शाखा, प्राविधिक शाखा, प्रशासन शाखा, न्याय शाखालगायतका शाखाबाट समेत आवश्यक तथ्यांक तथा विवरण संकलन गरिएको छ। शाखागत विवरणका आधारमा गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाहको अवस्था र कार्यसम्पादनका पक्षहरूको विश्लेषण गरिने जनाइएको छ।


सामाजिक परीक्षणलाई सहभागितामूलक र प्रभावकारी बनाउन गाउँपालिकाका उपाध्यक्ष एवं सामाजिक परीक्षण समितिकी संयोजक अनिता कुमारी साहसँग समेत सर्वेक्षणका क्रममा अन्तर्वार्ता लिइएको छ। त्यसैगरी नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, शिक्षाप्रेमी, समुदायका अगुवा तथा विभिन्न क्षेत्रका सेवाग्राहीसँग छलफल र अन्तरक्रिया गरिएको छ।
सामाजिक परीक्षणका विधि र प्रक्रिया
सामाजिक परीक्षण सार्वजनिक निकायले सञ्चालन गरेका कार्यक्रम, सेवा तथा गतिविधिलाई नागरिकको सहभागितामा समीक्षा गर्ने जवाफदेहितामूलक प्रक्रिया हो। यसले स्थानीय सरकारको कामकारबाहीबारे नागरिकलाई जानकारी गराउनुका साथै सार्वजनिक स्रोतसाधनको उपयोग, सेवा प्रवाहको गुणस्तर र संस्थागत पारदर्शिताको अवस्था पहिचान गर्न सहयोग पुर्‍याउँछ।


यस क्रममा सामान्यतया विभिन्न विधि अपनाइन्छन्। तीमध्ये प्रमुख विधिहरू यस प्रकार छन् :
१. नागरिक सन्तुष्टि सर्वेक्षण : प्रश्नावलीका माध्यमबाट नागरिकसँग प्रत्यक्ष जानकारी लिई स्थानीय सरकारको सेवा प्रवाहप्रति उनीहरूको सन्तुष्टि र असन्तुष्टिको अवस्था पहिचान गर्ने।
२. प्रत्यक्ष अन्तर्वार्ता : जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी तथा जिम्मेवार व्यक्तिसँग सम्बन्धित कार्यक्रम र सेवा प्रवाहबारे जानकारी लिने।
३. समूहगत छलफल : नागरिक समाज, बुद्धिजीवी, शिक्षक, समुदायका प्रतिनिधि तथा सेवाग्राहीसँग सामूहिक छलफल गरी समस्या, उपलब्धि र सुधारका सुझाव संकलन गर्ने।
४. शाखागत तथ्यांक तथा अभिलेख अध्ययन : गाउँपालिकाका विभिन्न शाखाबाट कार्यक्रम, बजेट, खर्च, प्रगति, सेवा प्रवाह र उपलब्धिसम्बन्धी विवरण संकलन तथा अध्ययन गर्ने।
५. स्थलगत अवलोकन : आवश्यकताअनुसार विकास आयोजना, भौतिक संरचना तथा सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने।
६. सुझाव तथा गुनासो संकलन : नागरिकले भोगेका समस्या, सेवा प्राप्तिमा देखिएका कठिनाइ र सुधारका उपाय पहिचान गरी प्रतिवेदनमा समेट्ने।


यी विधिबाट प्राप्त तथ्यांक तथा प्रतिक्रियालाई आपसमा तुलना र विश्लेषण गरी सामाजिक परीक्षणको निष्कर्ष तयार गरिन्छ।
प्रतिवेदन सार्वजनिक गर्ने तयारी


जेजे न्यूज मिडिया प्रा.लि.का सञ्चालक जयकृष्ण यादवका अनुसार सामाजिक परीक्षणअन्तर्गत गर्नुपर्ने नागरिक सर्वेक्षण, शाखागत तथ्यांक संकलन, सरोकारवालासँगको छलफल तथा अन्तर्वार्तालगायतका अधिकांश काम पूरा भइसकेका छन्। संकलित सम्पूर्ण विवरणलाई व्यवस्थित रूपमा विश्लेषण गरी गढी गाउँपालिकाको सामाजिक परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाको समग्र अवस्था, नागरिकको प्रतिक्रिया, सेवा प्रवाहका उपलब्धि, देखिएका चुनौती तथा सुधारका सुझावलाई समेटेर प्रतिवेदन तयार गरिनेछ। प्रतिवेदन सार्वजनिक गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो।
सामाजिक परीक्षणको मुख्य उद्देश्य स्थानीय सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउनु हो। यस प्रक्रियाले गाउँपालिकाको कामकारबाहीबारे नागरिकलाई जानकारी प्राप्त गर्ने अवसर दिनुका साथै जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्दछ।


सामाजिक परीक्षणबाट प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी नीति, योजना, बजेट र कार्यक्रम निर्माणमा उपयोग गर्न सके स्थानीय तहको सेवा प्रवाहलाई नागरिकको आवश्यकता र अपेक्षाअनुसार सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यसरी नागरिकको प्रत्यक्ष सहभागिता, विषयगत शाखाका तथ्यांक, जनप्रतिनिधिको धारणा र सेवाग्राहीको अनुभवलाई आधार बनाएर तयार पारिने गढी गाउँपालिकाको सामाजिक परीक्षण प्रतिवेदनले स्थानीय तहमा सुशासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।