जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा बालविवाह न्युनिकरण सम्बन्धी विद्यालयका बालकालिकाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा वडा नम्बर ९ को सरस्वती माध्यमिक विद्यालय र इनरुवा २ को राजाजी माविका विद्यार्थी तथा शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालविवाह भनेको के हो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बालविवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्युनिकरणका लागी विद्यार्थी, अभिभावक तथा शिक्षकको भुमिका कस्तो हुन्छ ? भन्ने विषयमा प्रशिक्षक जयकृष्ण यादव र योगेन्द्र शर्माले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक तेजनारायण यादवले सामाजिक संजालको दुरुपयोगले पनि बालविवाह हुने गरेको बाल अधिकारको क्षेत्रमा सबै सचेत हुनुपर्ने बताउनुभयो । अर्का वत्ता इनरुवा ९ का कार्यवाहक वडा अध्यक्ष मिरा गुरागाईले भागी प्रेम बालविवाहले अभिभावकले समेत कमै उमेरमा विहान गरीदिने घटना विकराल बन्दै गएको बताउनुभयो । इनरुवा नगरपालिका कार्यपालिका सदस्य सविना सुवेदीले अभिभावक, बालकालिकाहरुमा जनचेताको अभावले गर्दा बाल विवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर विद्यालयहरुमा बालविवाह न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा कार्यापालिका सदस्यहरु योगेन्द्र शर्मा,रन्जु पौडेल, धिरा सरदार, रम्भु सरदार, भलनझनी चौधरी सहितको उपस्थिती रहेको थियो । उता राजाजी माविमा इनरुवा २ का कार्यवाहक वडा अध्यक्ष वीरेन्द्र कुमार मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रअ नारायण मेहता, कार्यपालिका सदस्य रन्जु पौडेल सहितकाले बालविवाह विरुद्धमा बोल्नुभएको थियो । वत्ताहरुले बाल विवाहको असर बारेमा बोलेका थिए ।

इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा वडा नम्बर ९ को सरस्वती माध्यमिक विद्यालयमा भएको बालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रमका सहभागी र अथितिहरु ।

राजाजी माविमा इनरुवा २ का कार्यवाहक वडा अध्यक्ष वीरेन्द्र कुमार मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न