गढी २ औराबनीका २० घरपरिवारलाई नयाँ घर हस्तान्तरण
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ५ गते । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित झोराटोल औराबनीका विपन्न सिमान्तकृत परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । गढी २ का २० विपन्न घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बीच नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले उक्त बस्तीमा निर्माण भएको भवन विपन्न परिवारलाई हस्तान्तरण गर्नुभएको हो । भूमिहीन दलित÷आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।
गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी प्रमुख अथिति चौधरीले विपन्न परिवारलाई हस्तान्तरण गर्नुभएको हो । वि.स. २०७९ पुस २० गते सम्झौता भएको परियोजनाले निर्माण काम सम्पन्न गरेकाले विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराएको जनाएको छ । चौधरीले हस्तान्तरण गर्नुभएको भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् ।
गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपियाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपियाँ, सङ्कल्प नेपालको १८ लाख रुपियाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपियाँ बराबर सहित एक करोड ७ लाख ५० हजार २ रुपियाँ कुल लागतमा भवन निर्माण परियोजना सम्पन्न भएको थियो ।
नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै प्रमुख अथिति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म परियोजना सफल हुन नसक्ने बताउनुभयो । उहाँले कुनैपनि योजना सफल हुन स्थानीय तहका नेतृत्वको भूमिका अझ बढी हुने बताउनुहुदै सबैको समन्वयमा भवन निर्माण परियोजना सम्पन्न गरी २० परिवारलाई भवन हस्तान्तरण गर्न सफल भएको बताउनुभयो ।
‘यो परियोजना सम्पन्न गर्न सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको छ । यहाँका स्वयं समुदाय पनि सक्रिय हुँदा यो परियोजना सम्पन्न हुन सफल भयो’, मन्त्री चौधरीले भन्नुभयो । ‘गढी गाउँपालिकाले जग्गा खोजेर सहयोग गर्नुभयो । नेतृत्वमा बसेको स्थानीय सरकारका अगुवा अगाडि नबढेमा समस्या उत्पन्न हुन्छ । त्यसकारण नेतृत्वमा बसेको स्थानीय नेतृत्व सक्रिय नहुँदासम्म योजना सम्पन्न गर्न अप्ठ्यारो हुन्छ ।’ चौधरीले भन्नुभयो ।
आगामी दिनमा यस्ता योजनाहरू सफल पार्न स्थानीय नेतृत्व नै सक्रिय हुनुपर्ने मन्त्री चौधरीको भनाइ थियो । यहाँका विद्यालय, स्वास्थ्य चौकी लगायतका आधारभूत सुविधाहरू उपलब्ध गराउनका निम्ति पनि आफूले पहल गर्ने उहाँको भनाई थियो ।
घर हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर खड्का सहित लाभग्राही विपन्न सिमान्तकृत परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।
