इनरुवा, जेठ ९ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित बसन्तपुरको श्री माध्यमिक विद्यालयमा दुई वटा कक्षालाई प्रविधिमैत्री बनाएको छ । विद्यलायको कक्षा शिशु र कक्षा १ मा प्रविधि तथा बालमैत्री वातावरणका लागि दुई वटा कक्षालाई प्रविधिमैत्री बनाएको हो । बुधबार एक कार्यक्रमका बीच हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले एकसाथ दुई वटा कक्षाको एलसीडी सतिहको प्रविधिलाई रिबन काटी उद्घाटन गर्नुभएको छ । विद्यालय बालबालिकाका लागि उपयुक्त हुने भएकाले प्रविधिसग रमाउदै , पढ्दै सिक्ने विश्वव्यापी मान्यता र अवधारणालाई आत्मसात् गर्दै कक्षालाई प्रविधिमैत्री बनाएको प्राधानाध्यापक महानन्द मेहताले जानकारी दिनुभयो । स्थानीयतालाई सुस्पष्ट रूपमा बुझेको र सोहीअनुरूपका क्रियाकलापहरू सञ्चालन गर्दै बाल सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले दुई वटा कक्षालाई प्रविधिमैत्री बनाएको जनाएको छ । बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै संस्कार, अनुशासन र सुरक्षालाई विशेष ध्यान दिई बालबालिकाको मानसिक विकास तथा शारीरिक वृद्धिमा टेवा पुग्ने खालका गतिविधिसगैं पहिलो चरणमा दुई वटा कक्षालाई प्रविधिमैत्री बनाएको मेहताले बताउनुभयो ।


१, सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका ५ को श्री माविमा शिशु तथा कक्षा १ को प्रविधिमैत्री कक्षाको उद्घाटन गर्दै ।