देवराजा यादव । इनरुवा
इनरुवा, जेठ २२ गते । सुनसरीका ४२ हजार बालबालिकालाई आईपीभी पोलियो खोप अभियानमा खेप लगाउदैछ । जिल्ला सदरमुकाम इनरुवा सहित जिल्लाभरिका बालबालिकाका लागि पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गरी ४२ हजार १२० जना बालबालिकालाई खोप लगाउने उद्देश्य सहित अभियान सञ्चालन गरेको हो । जिल्लाको १२ स्थानीय तहका १२३ स्वास्थ्य संस्था मार्फत ६७२ खोप केन्द्र , ७४८ स्वास्थ्यकर्मी र एक हजार ४९६ स्वयमसेवक परिचालन गरि ४२ हजार १२० जना बालबालिकालाई खोप लगाउने कार्य सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय, सुनसरीले यहाँ आयोजना गरेको जिल्ला खोप समिति तथा सरोकारबालाहरुसंगको अभिमुखिकरण तथा बैठक एवम् पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका ४२ हजार एक सय २० बालबालिकालाई खोप लगाइने प्रसाईले जानकारी दिनुभयो । उहाँले नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो । नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेकाले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।


अभियानको सुरुवात खोप समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले गर्नुभएको छ । अभियान सुरुवात तथा अभिमुखिकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी प्रमुख विपिन रेग्मी , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का लगायतको उपस्थिती रहेको थियो ।
उहाँले वि.सं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका सबै बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो । उहाँले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम समेत दिइ मंगबारबाट खोप केन्द्रमा परिचालन गरिएको बताउनुभयो । यही मंगलबारबाट सुरु भएको खोप अभियान जेठ २७ गतेसम्म जारी रहनेछ । जिल्लाका प्रायः विद्यालयमा हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उहाँको भनाइ छ । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले खोप उपलब्ध गराइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।


१, स्वास्थ्य कार्यालय, सुनसरीले आयोजना गरेको जिल्ला खोप समिति तथा सरोकारबालाहरुसंगको अभिमुखिकरण तथा बैठक एवम् पत्रकार भेटघाट कार्यक्रममा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा