सुरेन्द्र मेहता । भोक्राहा
इनरुवा, जेठ २४ गते । सुनसरीका मधेसी महिलाहरुले पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै बीहिबार वटसावित्री पर्व मनाइएको छ । जेष्ठ कृष्णपक्षको आमावश्यामा यहाँका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै हर्सोल्लासका साथ वटसावित्री पर्व मनाएको हो । जिल्लाको सदरमुकाम इनरुवा सहित कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढी, दुहवी , रामधुनी सहितका विवाहित महिलाहरुले हर्सोल्लासका साथ वटसावित्री पर्व मनाएको स्थानीय कविता मेहताले जानकारी दिनुभयो । इनरुवा २ की रन्जु पंडितले वटसावित्री पर्वमा गाउँभरी विहाहित महिलाहरु पतिको दीघार्युको कामना गर्दै वर र पिपलको पूजा गरिने भएकाले रौनक समेत बढेको बताउनुभयो ।
आफूहरुले पान, सुपारी, केरा, स्याउ, अंगुर, आपँ लगायत फलफूल चढाएर पूजा गर्नुका साथै पिपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरि पुजापाठ सहित बटसावित्री पर्व मनाएको इनरुवा ९ की सोनी यादवले बताउनुभयो ।
वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ । वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसंग धर्मशास्त्रमा उल्लेख छ । यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निराहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन् । यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजा–अर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व पतीका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ । वर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रंग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजा–अर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ । मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै मधेसी समुदायका महिलाले मनाउने गरेका छन् ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मेहता समुदायका महिलाहरुले हर्सोल्लासका साथ वटसावित्री पर्व मनाउदै ।
तस्विर ः सुरेन्द्र मेहता । भोक्राहा