इनरुवा नगरपालिकाको बजेट ७७ करोड ३५ लाख ९७ हजार
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १० गते । सुनसरीको इनरुवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ७७ करोड ३५ लाख ९७ हजार रुपियाँको बजेट विनियोजन गरेको छ । सोमबार इनरुवा नगरपालिकाको सभाहलमा १३ औं नगर सभामा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक विनिताकुमारी मेहताले बजेट, नीति तथा कार्यक्रम माफर्त सो बराबरको बेजट सार्वजनिक गर्नुभएको हो । यो बजेट गत वर्षको तुलनामा दुई करोड २८ लाख रुपियाँले बढी हो । नगरले आर्थिक वर्ष २०८०–०८१ का लागि ७५ करोड ७ लाख ६४ हजार रुपियाँको बजेट विनियोजन गरेको थियो ।
संघीय समानिकरण अनुदान १७ करोड २४ लाख, संघीय सर्शत अनुदान ३० करोड ५२ लाख, समपुरक अनुदान ६५ लाख, प्रदेश समानिकरण अनुदान एक करोड १० लाख ६ हजार, प्रदेश समपुरक अनुदान एक करोड ३० लाख रुपियाँ, प्रदेश सर्शत अनुदान दुई करोड तीन लाख, संघीय राजश्व बाडफाँट १२ करोड ९७ लाख, प्रदेश राजस्व बाँडफाट(सवारी कर) ८८ लाख २६ हजार, मालपोत रजिस्ट्रेशन शुल्क र अन्य राजश्व सहित आन्तरिक स्रोत १० करोड ६६ लाख ६५ हजार गरि ७७ करोड ३५ लाख ९७ हजार बजेट नियोजन गरिएको छ ।
आगामी आवको बजेटमा नगरको शैक्षिक गुणस्तरीय एवम प्रविधिमैत्री बनाउने, आधारभुत पूर्वाधार निर्माण, कृषि, पशुपालन तथा आयआर्जनका कार्यक्रम विस्तार, सुशासन प्रवद्धन गर्ने, समग्र नगरको विकासमा सुधार, फोहोरमैला व्यवस्थापन सहित स्वास्थ्यलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ । इनरुवा नगरले पूर्वाधार, सामाजिक, शिक्षा, स्वास्थ्य, लक्ष्ति वर्ग, आर्थिक विकासमा कृषि तथा पशु विकास, सहकारी तथा वित्तिय सेवा, वन वतावरण तथा विपद् व्यवस्थापन, सुशासान तथा संस्थागत विकासको योजना अन्तर्गत ७१ वटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उपप्रमुख मेहताले जानकारी दिनुभयो । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि प्रत्येक वडामा एउटा गौरबसाली योजना ७० लाख रुपियाँको हुने गरि बजेट विनियोजन गरिएको छ । घरदेखी घाटसम्म कार्यक्रम(दलित तथा अति विपन्नलाई किरिया खर्त बापत ) प्रतिपरिवारलाई १० हजार रुपियाँ दिन कार्यक्रमलाई निरन्तरता दिएको, वन बाहन किन्ने, घर नक्सा पास गरेर घर निर्माण गरेकाहरुलाई कम्तीमा दुई वटा विरुवा रोप्नुपर्ने नीति ल्याएको छ भने अपाङ्गता भएको व्यक्तिको परिवार, दलित तथा अतिविपन्नका लागि स्वास्थ्य विमा गर्ने विषेश कार्यक्रमहरु बजेटमा उल्लेख छ ।



इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा भएको सभामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु र सदस्य तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
नगरसभाबाट पारित भएको बजेट, नीति तथा कार्यक्रमको बारेमा थप छलफल थर्नका लागि असार २२ गते सभाको अर्को बैठक बोलाउने गरि सभा स्थगित गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिकाले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि बजेट, नीति तथा कार्यक्रममा प्रमुख, उपप्रमुख सहित अथिति र कार्यक्रममा सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
नगरको ध्यानाकर्षण गर्न नागरिक समाजको धर्ना
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा र स्वास्थ्य अवस्था कम्जोर रहेको भन्दै नागरिक समाजले नगरको ध्यानाकर्षण गराउन धर्ना दिएको छ । नगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने सभा हल बाहिर नगरको समग्र शिक्षामा गुणस्तर हुनुपर्ने र स्वास्थ्य सेवा सबैको पहुचमा हुनुपर्ने माग सहित नागरिक समाजले नगर प्रमुख केदार भण्डारीको ध्यानाकर्षण गराउन धर्ना दिएको हो । सोमबार विहान ११ बजेदेखी चार घण्टासम्म इनरुवा नगर शैक्षिक सुधार अभियानले शिक्षा सुधार, प्राविधिक विद्यालय, विज्ञान संकायको पढाईको व्यवस्था र अस्पतार सुधार सर्घष समितिले स्वास्थ्य संस्थामा औषधीको उपलब्धता, नगर अस्पतालको स्थापना र नागरिकको पहुचमा स्वास्थ्य हुनुपर्ने माग सहित ध्यानाकर्षण गराउन धर्ना दिएको अभियानका संयोजक दिलिपचन साहुले जानकारी दिनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिकाले आयोजना गरेको नगर सभाको भवन अगाडि धर्नामा रहेका नागरिक समाजका प्रतिनिधि तथा धर्नाका सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
