हरिनगरको १७ औं गाउँ सभा र भोक्राहा नरसिंहको १६ औं गाउँ सभा सम्पन्न
दिपेन्द्र यादव । सुनसरी
सुनसरीको भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले आफ्नो बजेट, नीति तथा कार्यक्रम समयमै सार्वजनिक गरेको छ । हरिनगर गाउँपालिकाले आफ्नो १७ औं गाउँ सभा आईतबार सम्पन्न गरेको छ भने भोक्राहा नरसिंह गाउँपालिकाले शुक्रबार सभा सम्पन्न गरेको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य इस्राइल मंसुरीको प्रमुख आतिथ्यतामा हरिनगरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुति गरिएको हो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अंसारी विशेष अतिथिको रुपमा रहनुभएको थियो । अजमल अख्तर आजादले समृद्धि र विकासका लागि सहयोग र समन्वयको महत्वमा जोड दिनुभयो । उहाँले गाउँपालिकाहरूको समृद्धि हाम्रो साझा उद्देश्य भएकाले यसका लागि हामी सबैले मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले स्थानीय स्रोत र साधनको सही उपयोगबाटै गाउँपालिकाको दिगो विकास सम्भव हुने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने योजनाहरूको बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु्भयो ।
प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य इस्राइल मंसुरीले सबै स्थानीयलाई आत्मनिर्भर बनाउने रहेकाले यसका लागि योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने र जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । गाउँसभामा अध्यक्ष गफार अंसारीले आफ्नो धारणा राख्दै गाउँपालिकाको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग आवश्यकता महसुस गरेको बताउनुभयो ।






उता भोक्राहा नरसिंह गाउँपालिकामा १६ औं गाउँ सभा भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा विभिन्न विकास योजनाहरूको प्रस्तावना, समीक्षा र पारित गर्ने कार्य सम्पन्न गरिएको हो ।
सभामा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, उपाध्यक्ष सुनिता कुमारी उराँव, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न समितिका प्रमुखहरू, स्थानीय बासिन्दा र मिडिया प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा आगामी आर्थिक वर्षका लागि विभिन्न पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, सिँचाइ, खानेपानी, तथा अन्य सामाजिक कार्यक्रमहरूमा बजेट विनियोजनको प्रस्ताव प्रस्तुत गरिएको थियोे ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सभालाई सम्बोधन गर्दै गाउँपालिकाको समग्र विकासका लागि सबैको सहकार्य र योगदान आवश्यक रहेको बताए। उनले आगामी योजनाहरूको सफल कार्यान्वयनका लागि स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिताको अपेक्षा पनि व्यक्त गरेका छन् ।प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गाउँपालिकाको वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै यस वर्षको आम्दानी र खर्चको विस्तृत विवरण पेस गरेका थिए । उनले बजेटको पारदर्शिता र सही प्रयोगमा विशेष ध्यान दिइने बताए। उपाध्यक्ष सुनिता कुमारी उराँवले पनि बजेट प्रस्ताव प्रस्तुत गरिन्, जसमा विशेष गरी महिला, बालबालिका, र सामाजिक समावेशीकरणका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको थियो।
सभामा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका विषयमा विशेष छलफल गरिएको थियोे । विशेष गरी कृषि क्षेत्रमा उन्नत बीउ, मल र सिँचाइ सुविधाहरूको विस्तार गर्ने योजना प्रस्तुत गरिएको छ । स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूको सुधार र विस्तारित सेवाहरू उपलब्ध गराउने प्रस्ताव पारित गरेका छन्। त्यस्तै शिक्षामा विद्यालय सुधार, छात्रवृत्ति कार्यक्रम र शिक्षक तालिमलाई प्राथमिकता दिइने बताएका छन् ।
यता स्थानीय बासिन्दाहरूले विभिन्न मुद्दाहरूमा आफ्ना सुझाव र गुनासाहरू व्यक्त गरेका थिए , जसमा सडक सुधार, सिँचाइ व्यवस्था, र रोजगार सृजनाका विषयमा बढी ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ । गाउँसभा सदस्यहरूले प्रस्तुत गरिएका योजनाहरूलाई सर्वसम्मतिले पारित गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न हुँदा स्थानीय विकासका योजनाहरूलाई प्राथमिकता दिँदै समृद्ध भविष्यतर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
