इनरुवामा गाईजात्रा तथा लाखे नाच सुरु

अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, भदौं ४ गते । सुनसरीको सदरमुकाम इनरुवाका नेवार समूदायहरुले विशेष उल्लासका साथ मंगलबारमा गाईजात्रा पर्व मनाइएको छ । विभिन्न स्थानमा गाईजात्रामा सांस्कृतिक विधाहरुको प्रदर्शन गरि गर्दै गाईजात्रा मनाईरहेको छ ।
इनरुवाका नेवार समूदायहरुको जातीय संस्था झिगु नेवा समाजको आयोजनामा विशेष उल्लासका साथ गाईजात्रा पर्वको लाखे नाच्दै मनाइएको हो ।
लाखे जात्रा मंगलबारबाट सुरु भई भदौ १० गतेसम्म मनाउने स्थानीय केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आठ रात नौ दिन लामो गाईजात्रा पर्व मंगलबारबाट सुरु भएको छ । लाखे नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो । गाईजात्राको दिन विशेष उल्लासका साथ गाईजात्रा मनाइएको छ । नगरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न जिल्लाको ग्रामिण क्षेत्र हरिनगर, बर्जु, कोशी र भोक्राहा नरसिंह आसपासका सयौंका जात्रालु आएका छन् । नगरबाहिरका सयौं जात्रालुहरु इनरुवामा जात्रा हेर्न आउने भएकाले इनरुवा नगरपालिकाले स्थानीय विदा दिएको छ ।



गाईजात्रामा विभिन्न नाच, नाटक सुरु भएको छ । स्कुल, कलेजहरुमा विद्यार्थीलाई गाईजात्रा पर्वकाबारे जानकारी दिनुका साथ विभिन्न स्थानमा नाच नचाइरहेको जनाएको छ । गाईजात्राको मुख्य आकर्षण लाखे नाच हो । लाखे टोलीले इनरुवा नगर परिक्रमा गर्ने गर्दछ । वर्षभरिमा मृत्यु भएका परिवारको तर्फबाट एकएक टोली नाच नाचेर नगर परिक्रमा गर्ने गर्दछन् । गाईजात्रामा लाखे नाच, नटु मथु वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच, ख्या नाच, कवाँचा नाच लगायतका नाच पनि देखाइन्छन् ।



झिगु नेवा समाजका इनरुवा अध्यक्ष भुपाल प्रधानले इनरुवा नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने गरिएको बताउनुभयो । आफूहरुको टोलीहरुले नौ दिनसम्म र नाचगानमय हुने बताउनुभयो । जात्राका क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने चलन छ । झिगु नेवा समाजका इनरुवाका सचिव पुकार श्रेष्ठका अनुसार जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन हुने परम्परा छ ।
झिगु नेवा समाजका इनरुवाका उपाध्यक्ष शंकरनाथ महाजुले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी इनरुवामा परिक्रमा गराइएको बताउनुभयो । आफूहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । मृतक पुरुष भएमा पुरुषको पहिरन लगाएर बहर र महिला भएमा महिलाका पहिरन लगाएर गाई निकाल्ने प्रचलन रहेको उहाँको भनाई छ । उता नेवा उत्थान समाजले समेत गाईजात्रामा विभिन्न नाच, नाटकको नगरभरी प्रदर्शन सुरु गरेको छ ।
