जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १० गते । सुनसरी सदरमुकाम इनरुवा सहित ग्रामिण बस्तीमा घरघरमै भगवान कृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएका छन् । वैदिक सनातन हिन्दु धर्मावलम्बी स्थानीयहरुले श्रीकृष्णजन्माष्टमी पर्वको अबसरमा भगवान् श्रीकृष्णको प्रतिमुर्ती बनाएर घरघरमा पूजा–आराधना गरेका छन् । घरघरमै मुर्ती पुजा गरी श्रद्धा–भक्तिपूर्वक मनाएको इनरुवा ९ बबियाका विन्देश्वर यादवले बताउनुभयो । जिल्लाको इनरुवा, गढी, दुहवी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी, रामधुनी सहितको क्षेत्रमा हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएको स्थानीय देवराज यादवले बताउनुभयो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको दिनलाई विषेश गरेर यदुबशी यादवलहरुले जिल्लाको गाउँगाउँमा श्रीकृष्णजन्माष्टमीको दिन भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पंडित बलाराम यादवको कथन छ ।
त्यसैले धेरै स्थानीयहरुले भगवान कृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएको बताएका छन् ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा इनरुवाको राधाकृष्ण मन्दिर, दुहवीको कृष्ण मन्दिर , हरिनगरको बासुकिनाथ मन्दिर , राधाकृष्ण मन्दिर, रामधनुी मन्दिर सहितका मन्दिरमा मेला लागेको छ ।
यसैगरी मंगलबार श्रीकृष्णको झुला सहित रथ यात्रा निकालिने तयारी भएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सत्यनारायण मन्दिर इनरुवामा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी विभिन्न स्थानमा रहेका राधाकृष्ण र श्रीकृष्ण मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । यहाँका विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मंगलबार निकाल्ने गरिन्छ ।