शीर्षक :”सुखद विश्राम “

रचनाकार :विमला पोख्रेल
मुखमा चारो नहुँदा पनि
खोक्रो पेटले सहेकै थियो
जीर्ण छानो त ढुक्कै थियो
सहारा बाँसको टेको छ भनेर
अनायास हावाहुरी चल्यो
खर पराल उडाएर लग्यो
डाँडा भाटा छिरोलिए
अहो!कहाँ हुत्तिए थाहा नै भएन
पेटमा पटुकी कसेर
साग सिस्नु टिप्न झाडी पसेँ
डढेलोले सखाप पारेछ
काहीँ फेला पार्न सकिनँ
जरूवा पानी पिउन खोजेँ
बेइमानी आन्द्राहरू झुत्ती खेल्छन्
खुट्टाहरू पनि भनेको मान्दैनन्
मन पापीलाई कसरी अड्याऊँ
पाटी,पौवा,बाढी पहिरोमा परेछ
बास बस्न खोलो बगर धाएँ
तर नत झुप्रो ठड्याउने टेको छ
नत छानो ठड्याउने सामान छ
खोज्दै जाँदा बल्ल तल्ल ढोड पाएँ
सुकेका सन्ठी पनि पाएँ
तिनै ढोड र सन्ठी ठड्याएकी छु
अब त महल बनाउन खोज्दैछु
मलाई अब लोलो पोतो चाहिदैन
क कठैबरा!शब्द सुन्न चाहन्न
सेउला बाट छानो ठड्याएकी छु
त्यसैमा अब निश्चिन्त विश्राम लिनेछु
सधैंको लागि सुखद विश्राम