विद्यालयको जग्गा अतिक्रमण गरि १४ परिवारको बास, विद्यालय निरास
इनरुवा, जेठ ५ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–८ गणेशपुर स्थित श्री गणेश नेपाल राष्टिय आधारभूत विद्यालयको नाममा रहेको १० कठ्ठा जग्गा अतिक्रमण गरी १४ परिवारले घर टहरा बनाएर बसोबास गरिरहेको तथ्य सार्वजनिक भएको छ । विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले उक्त जग्गा खाली गराउन इनरुवा नगरपालिका–४ नम्बर वडा कार्यालयलाई औपचारिक पत्राचार गरेको छ । जग्गा भएर पनि विद्यालयले वार्षौदेखी उपयोग र उपभोग गर्न नपाएकोमा निरास हुदै भूमि प्रशासन कार्यालय इनरुवा, सुनसरीमा विद्यालयको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ३०९ को १० कठ्ठा जग्गा खाली गराईदिन स्थानीय सरकारलाई पत्राचार गरेको हो । विद्यालयका प्रधानाध्यापक रामविलास मेहता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त मेहताले संयुक्त रूपमा दिएको निवेदनमा कित्ता नम्बर ३०९ को १० कठ्ठा जग्गा नाप–नक्सा सहित खाली गराउन माग गरिएको उल्लेख छ ।
विद्यालयले वडा कार्यालयमा पठाएको निवेदनसँगै जग्गाधनी प्रमाणपुर्जा, नक्सा तथा विद्यालय व्यवस्थापन समितिको निर्णयसमेत संलग्न गरिएको जनाएको छ । विद्यालयका अनुसार उक्त जग्गामा भागवत मेहता, रामप्रसाद मण्डल, जयराम मण्डल, फुदन मण्डल, सदानन्द मण्डल, गुरुदेव माली, झपट महतो, बालेश्वर मण्डल, फेकनी मण्डल, उतिमलाल मण्डल, दुखुवा मण्डल सेहवा, भलुवा मण्डल, कैलु मण्डल र झरिलाल मण्डलले घर टहरा निर्माण गरी बसोबास गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक रामविलास मेहताले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक जग्गा अतिक्रमण हुँदा पठनपाठनको वातावरण प्रभावित भइरहेको बताउनुभयो ।
उहाँले विद्यालयको स्वामित्वमा रहेको जग्गा संरक्षण गर्नु आफूहरुको दायित्व भएकाले सरकारी अभिलेखमा विद्यालयकै नाममा रहेको जग्गा अतिक्रमण हुँदा भविष्यमा विद्यालय विस्तारका योजना प्रभावित हुने अवस्था आएकाले समयमा नै खाली गराउन वडामा आग्रह गरिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त मेहताले कानुनी प्रक्रिया अनुसार सम्बन्धित निकायसँग समन्वय गरी जग्गा खाली गराउने पहल गरिएको जानकारी दिनुभयो । हाल नेपाल सरकारले देशभर सरकारी, ऐलानी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको छ । खोला किनार, वन क्षेत्र तथा सार्वजनिक उपयोगका जग्गा अतिक्रमण गरी बसोबास गर्नेहरूलाई हटाउने अभियान तीव्र बनाइएका बेला इनरुवाको यो विषय पनि चर्चामा आएको हो । यसैबीच, इनरुवा नगरपालिका–३, ६ र ८ नम्बर वडामा पर्ने संरक्षित कंशमडान वन क्षेत्र तथा लाटीमाईदेवी थान, ग्रामथान र डिहिबार थानको करिब ५ विगाहा १७ कठ्ठा जग्गामा समेत अतिक्रमण गरि घर टहरा बनाएकाले अतिक्रमण गरेर बसोबास गर्दै आएका व्यत्तीहरुको घर टहरा हटाउन माग गरेका छन ।
जग्गाधनी प्रमाणपुर्जा भएका व्यक्तिहरूले समेत सुकुम्बासीको नाममा सार्वजनिक तथा धार्मिक महत्वका जग्गा अतिक्रमण गरी घर निर्माण गरेर बसोबास गरिरहेको भन्दै स्थानीयले सरोकारवाला निकायसँग ती क्षेत्र खाली गराई संरक्षण गर्न माग गर्दै आएका छन् । स्थानीयवासीले सार्वजनिक तथा शैक्षिक सम्पत्तिको संरक्षणमा नगरपालिका, वडा कार्यालय र प्रशासनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

१, सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–८ गणेशपुर स्थित श्री गणेश नेपाल राष्टिय आधारभूत विद्यालय ।
