जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा प्राविधिक सहयोग र नगरपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आईतबार सम्पन्न भएको हो ।

तालिम नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा समापन भएको सामाजिक शाखा प्रमुख अरुण कुमार मेहताले जानकारी दिनुभयो । तालिम समापन गर्नुहुँदै उपप्रमुख सुनुवारले तालिमले न्यायिक समितिको काममा थप सहज हुने र मेलमिलापकर्ताहरुले सिकेका कुराहरु व्यवहारमा उतार्ने बताउनुभयो ।

सहभागी हरिकटुवालले आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको तर सबै मेलमिलापका लागि नगरले वडामा नपठाएकाले केही समस्या भएको बताउनुभयो । नगरपालिकाका २८ जना मेलमिलापकर्ताहरु सहभागी भएको तालिममा प्रमुख प्रशिक्षक अधिवक्ता वीरेन्द्र बहादुर बस्नेत र प्रशिक्षक मेलमिलापकर्ता जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएका थियो । मेलमिलापका आधारभूत सिद्धान्त, महत्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रकाशन र अदालतको काम लगायत विषयमा जानकारी गराइरहेको छ । सहभागीहरुलाई प्रशिक्षकहरूले सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै प्रभावकारी रुपमा व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।


१, सुनसरीको बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा