जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ २ गते । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि सुनसरीका महिलाले सनिबार बरसाइत (बटसावित्री) पर्व मनाएका छन् । जिल्लाको विभिन्न स्थानमा महिलाहरुले सामूहिक रुपमा हर्सोल्लासका साथ बरसाइत पर्व मनाईएको छ । जिल्ला सदरमुकाम इनरुवाको विभिन्न वडामा महिलाहरुले वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्दै हर्सोल्लासका साथ बरसाइत पर्व मनाईएको इनरुवा ९ बबियाकी बर्तालु ममताकुमारी यादवले जानकारी दिनुभयो । यादवका अनुसार जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहितता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमानको घर) मै मनाउनुपर्छ । शुक्रबार नहायखाय (स्नान गरी सात्त्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

सनिबार बिहानै नुहाईधुवाई रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर(बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवै सँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ । पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाई छाता ओढाएर साक्षीको रूपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रूपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन् । आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।


यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी बटवृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धूमधामका साथ यसलाई मनाउने गर्दछन् । विभिन्न फलफूल, अक्षता, धूप, दीपसहित विवाहित महिला गीत गाउँदै बटवृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकमा उल्लेख छ ।


१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियाका महिलाले बरसाइत पर्व मनाईरहेको दृष्य ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा