हरिनगरमा ज्येष्ठ नागरिक महिलालाई सम्मान
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १ गते । सुनसरीको हरिनगर गाउँपालिकाले ४० जना बढी ज्येष्ठ नागरिक महिलालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुसंग सीप, अनुभव साटासाट तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको हो । हरिनगर गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले एक कार्यक्रम मार्फत गाउँपालिकाभित्रका सबै वडाका ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला गरेर सम्मानका साथै ज्येष्ठ नागरिकसंग अनुभवन साटासाट कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकको सीप, अनुभव र भोगाइलाई पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकको सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, सांस्कृतिक, संस्कार तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र सामाजिक न्यायमा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ ।, त्यसैले सम्मान गरिएको हो ।’ गाउँपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई सम्मान, उनीहरूलाई परिचयपत्र वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्यले बताउनुभयो । वृद्धवृद्धाहरूमा एक–आपसमा मनका भावना, विगतका सम्झनालाई ताजा गराउन र नयाँ पिँढीलाई परम्परागत संस्कृति हस्तान्तरण गर्न पालिकाभित्रका ज्येष्ठ नागरिकलाई भेला गराई सम्मान गरेको बताउनुभयो । साकारात्मक उदाहरणीय सन्देश र सहयोगीलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

१, सुनसरीको हरिनगर गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक महिलालाई सम्मान कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

