सुनसरी, असोज २४ गते । दशैंको अवधिमा माटो मुछेर निर्माण गरिएको दुर्गा भवानीसँगै अन्य मूर्ति (प्रतिमा) हरुको पूजा बिहीबारदेखि विधिवत् रुपमा शुभारम्भ भएको छ । जिल्लामा घटस्थापनासँगै माता दुर्गासहितका देवी, देवताको पुजापाठ शुरु गरिए पनि माटोको मूर्ति निर्माण स्थलहरुमा बिहिबारदेखि विधिवत् रुपमा पूजापाठ शुरु भएको हो । पूजापाठ शुरुभएसँगै सुनसरीका प्रतिमास्थलहरुमा भिडभाड बढेको छ । सुनसरी सहित तराई मधेश र मिथिलाञ्चलमा बेलनौती तथा बेलतोडी पश्चात माटोको मूर्तिहरुको आँखा उघारेपछि मात्रै माटो मुछेर बनाइएका मूर्तिहरु दर्शनार्थीहरुको लागि खुला गर्ने परम्परा रहेको छ । घटस्थापनादेखि षष्ठीसम्म मूर्ति बनाइएका स्थानहरुमा बाहिर नै पुजापाठ गर्ने चलन रहेको छ भने मूर्ति निर्माण हुने ठाउँहरुमा दशैंको षष्ठीको दिन बेल निमन्त्रणा अर्थात बेलनौती तथा सो को भोलिपल्ट सप्तमीको दिन बेलतोडी गरेर मूर्तिहरुको आँखा उघारेपछि धूमधामका साथ पुजापाठ शुरु हुने गरेको छ । मधेसी तथा मिथिला क्षेत्रमा दशमीको अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा उघार्न (खोल्न) बेलको भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले विधिपूर्वक पुजापाठका साथ बाँधिन्छ । जसलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ ।


षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । सो विधिलाई मिथिलामा ‘बेलतोडी’ भनिन्छ । माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न त्यो आवश्यक छैन ।


मूर्तिहरुको आँखा उघारेपछि मेलाहरु समेत शुरु भएको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा सहित भोक्राहा नरसिंह, आकाहा, कोशी गाउँपालिकाको लौकही, कोशी कटान, श्रीपुर, हरिपुर, भाण्टाबारी, हरिनगर गाउँपालिकाको रामनगर भुटाहा, हरिनगरा, बसन्तपुर, घुस्की, गौतमपुर, देवानगञ्ज गाउँपालिकाको मध्यहर्षाही, राजगञ्ज सिनुवारी, जिरोगवा, साहेवगञ्ज, कप्तानगंज, देवनागञ्ज, बर्जु गाउँपालिकाको चिमडी, अमाहिबेलाहा, रामजगञ्ज बेलगछिया, गढी गाउँपालिकाको छिटाहा, सतैरझोरा, औरावनी, मधेली, दुहवी नगरपालिकाको दुहवी बजार, पूर्व कुशाहा, सिमरिया, इटहरी, रामधुनी, बराहक्षेत्र सहितको १२ वटै स्थानीय तहमा दशमीको मेला सुरु भएको छ । धेरै स्थानमा मेला तथा मनोरन्जनात्मक कार्यक्रम सांस्कृति कार्यक्रम तथा महिलाहरुको खोंइछ भराई शुरु भएको छ । यसवर्ष तिथीको घटीबढीले गर्दा कतिपयले बिहीबार नै बलि तथा महिलाहरु खोंइछ भराई कार्यक्रम गरेका छन् भने कतिपयले शुक्रबार बली प्रदान तथा खोंइछ भर्ने कार्यक्रम रहेको इनरुवा नगरपालिका वडानं. ४ का पण्डित कुन्जीलाल मेहताले जानकारी दिनुभयो ।

उहाँले मूर्ति निर्माण गरिएको ठाउँहरु लगायत सुनसरीका प्रसिद्ध शक्तिपीठहरु भगवती मन्दिर, दुर्गा मन्दिर, काली मन्दिर तथा देवी स्थानहरुमा समेत मेला शुरु गरिएको छ । जिल्लाको इनरुवा नगरपालिकामा एक महिनादेखि निर्माण भइरहेको दुर्गा प्रतिमा यसक्षेत्रमै सबभन्दा ठुलो मानिएको छ ।

इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले इनरुवा २ मा निर्माण गरिएको देवी दुर्गाको प्रतिमा १७ फिट भन्दा ठुलो रहेको बताउनुहुदै यसक्षेत्रमा सबभन्दा ठुलो मूर्ति दुर्गा मन्दिर इनरुवाकै रहेको दावी गर्नुभयो । उता हरिपुरमा समेत १५ फिटको मूर्ति दुर्गा मन्दिर कोशी ७ मा बनाइएको वडा अध्यक्ष लालदेव सदाले दावी गर्नुभयो ।