जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर २७ गते ।काेशी प्रदेशको सुनसरी र उदयपुर सहित दुई र मधेस प्रदेशकाे सप्तरी एक जिल्ला गरि तीन जिल्लामा फैलिएर रहेको काेशी टप्पु बन्यजन्तु आरक्षमा यसकाे खरखडाई कार्य सकिएको छ । तीन दिनका लागि खुलेको खरखडाईमा कुल चार हजार ४१९ जनाले पुर्जी लिएर खर काटेकाे आरक्ष कार्यालयले जनाएको छ । काेशी गाउँपालिका २ पश्चिम कुशाहाका देवराज उराँवको परिवार तीन दिन अघि खर खडाईमा व्यस्त थियो । घर र गाईगोठमा छानो छाउन उहांको परिवार हरेक वर्ष खर खडाइकै पर्खाइमा हुन्छ ।

आरक्षले खर खडाई खोलेपछि उनीहरू परिवारका सबै खर भित्र्याउने काममा जुट्छन् । उहाँको परिवारका लागि यो परम्पराजस्तै बनेको छ । आरक्षले  मंसिर २४ देखि २६ गतेसम्म खर खडाई खोलेको थियो । तीन दिन बिहानदेखि साँझसम्म खर काटेर भित्र्याउने काम भएको उराँवले बताउनुभयाे । ‘गाईगोठको छानो छाउन खर नभई हुँदैन,’ उहाँले भन्नुभयाे, ‘हरेक साल फेर्नुपर्छ, गोठमा बार लगाउन पनि खरकै प्रयोग हुन्छ ।’ खर खडाई खुलेका बेला आरक्ष आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्छ । बिहानदेखि साँझसम्मै खर काट्ने र बोक्ने काम चलिरहन्छ । आरक्ष कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खर खडाई खोल्दै आएको छ । विगतमा अधिकांशका घर गोठ सबै कच्ची हुन्थे । छानोका लागि खरकै भर पर्थे । हिउँदमा खर खडाई खुलेपछि स्थानीयलाई राहात हुन्थ्यो । तर हालका वर्षमा आरक्ष आसपासका बस्तीमा घर गोठ जस्तापाता र केही पक्की भइसकेका छन् । कच्ची घर भएका तथा गाईवस्तु पालन गर्ने विपन्न परिवारका लागि खर खडाईले निकै सजिलो भएको स्थानीय पार्वती उराँवले बताउनुभयो  ।

स्थानीयहरू अन्य काम थाती राखेर पनि खर खडाईमा लाग्ने गरेका छन् । आरक्षकाे मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरूले वर्षभरि वन्यजन्तुले दिएको पीडा खर भित्र्याउँदा राहतजस्तै महसुस गर्छन् । तर खर खडाई परम्परा जस्तै बनेकाले यो निरन्तर चलिरहेको छ । कतिपयका लागि यो अत्यावश्यक छ भने धेरेका लागि खरका नाममा दाउरा भित्र्याउने माध्यम बनेको छ । ठूलो संख्यामा एकै पटक आरक्षभित्र भीड बढ्दा वन्यजन्तुको वासस्थान प्रभावित हुनुका साथै उनीहरूको विचरणसमेत खल्बलिन्छ । काेशी टप्पु बन्य जन्तु आरक्ष प्रशासनका अनुसार गत वर्ष आठ हजारले खर काट्ने पुर्जी लिएकोमा यस पटक चार  हजार ४१९ जनाले खर खडाइका लागि पुर्जी काटेका छन् ।

एकै पटक चार हजार बढी जना आरक्षमा पस्दा ठूलादेखि साना वन्यजन्तु सबै प्रभावित हुन्छन् । ‘वन्यजन्तुलाई डिस्टर्ब भए पनि हामीले आरक्षबाट स्थानीयलाई पाइने सेवाका रुपमा यसलाई लिएका छौं,’ आरक्षका बरिष्ठ प्रमुख संरक्षण अधिकृत रामदेव चाैधरीले भन्नुभयाे, ‘यसलाई विस्तारै घटाउँदै लगेका छौं ।’ उहाँका अनुसार आरक्षभित्र पस्नेले खाजा तथा खानेकुराका लागि बोक्ने प्लास्टिक तथा अन्य सामग्री बोकेर लैजाँदा यसले प्रदूषणसमेत बढ्ने भएकोले त्यसमा निगरानी गरेको थियो ।
उहाँका अनुसार सुरुमा आरक्षमा डेढ महिनासम्म खर खडाई चल्थ्यो । त्यसपछि एक महिना, १५ दिन, ७ दिन र ५ दिन हुँदै अहिले ३ दिनमा झारिएको छ । ‘खर खडाईका नाममा काठ गोलियाको तस्करी र हरिया रूख काट्ने काम पनि हुन्छ,’ चाैधरीले भन्नुभयाे, ‘यही जोखिम कम गर्न समय घटाउँदै लैजान थालेका हौं ।’ खर खडाईबाट आरक्ष भित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा भने सहजता भएको र सरसफाइ समेत भएको छ ।


खर खडाईका लागि आरक्षभित्र पसेका माथि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि त्यतिकै रहन्छ । यस पटक भने  खर खडाईकाे समयमा जंगली जनावरको  आक्रमणमा परेर कुनै घटना भएको छैन ।  प्रति व्यक्ति प्रवेश अर्थात प्रति पुर्जी बापत ५० रुपियाँका दरले कुल चार  हजार ४१९ जनाबाट पुर्जी बापत दुई लाख २० हजार ९५० रुपियाँ राजस्व संकलन भएको आरक्षका वरिष्ठ  संरक्षण अधिकृत रामदेव चाैधरीले जानकारी दिनुभयो । चाैधरीका अनुसार विगतका भन्दा करिब आधाले खर खडाइका लागि पुर्जी कम क्टनुकाे मुख्य कारण बाढीले परेको असर भएको छ ।

  काटेकाे खर र संकलन गरेको घासदाउरा समेत तीन दिन भित्र नै बाहिर ल्याउनुपर्ने भएकोले स्थानीयलाई निकै हतार हुने गरेको स्थानीय विदिलाल सरदारले बताउनुभयो ।