हरिप्रसाद कोइराला
उर्लाबारी, भदौ ११ गते ।
 बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मोरङका तीन जना सम्पर्कविहीन भएका छन्। परिवारजन र स्थानीय जनप्रतिनिधिका अनुसार सुन्दरहरैँचाका दुई जना र पथरीशनिश्चरेका एक जना सम्पर्कविहीन भएका हुन्।

सुन्दरहरैँचा नगरपालिका–८ का वडासदस्य भोजबहादुर राईका अनुसार सोही वडाको सलकपुरका ४३ वर्षीय भोजराज अधिकारी परिवारसँग सम्पर्कविहीन हुनुहुन्छ। भोजराजका माइला भाइ नवराज अधिकारीका अनुसार बुधबार बिहान साढे ८ बजे भोजराज र उहाँका साथी प्रह्लाद शिवाकोटीबीच फोनमा कुराकानी भएको थियो। त्यसपछि भोजराजसँग सम्पर्क हुन सकेको छैन।

नवराजका अनुसार भोजराज विद्युतीय (ईभी) गाडीको भन्सार जाँच गराई ल्याउन एक साताअघि रसुवा जानुभएको थियो।

त्यसैगरी, सुन्दरहरैँचा नगरपालिका–११ का ४० वर्षीय सूर्यबहादुर कार्की बुधबार बिहान १० बजेदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँका भाइ अनिमेष कार्कीका अनुसार सूर्यबहादुर हाइड्रोपावर कम्पनीमा भान्छेको काम गर्नुहुन्थ्यो।

“ठ्याक्कै कुन हाइड्रोपावर हो भन्ने थाहा भएन। तर, नजिकै प्रहरी चौकी रहेको र त्यहाँ सम्पर्क गर्दा कसैसँग सम्पर्क हुन सकेको छैन,” अनिमेषले भन्नुभयो।

कार्कीसँगै काम गर्ने झापाको कनकाई नगरपालिका–३ का कुलबहादुर कार्की पनि सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरू नजिकका नातेदारसमेत रहेको बताइएको छ।

यता, मोरङको पथरीशनिश्चरे नगरपालिका–७, लामाटोलकी स्थायी बासिन्दा तथा हाल विराटनगरमा बस्दै आउनुभएकी लीला निरौलाकी छोरी रिचा निरौला पनि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्थ्यो।

पथरीशनिश्चरे नगरपालिका–७ का वडाध्यक्ष उद्धव बस्नेतका अनुसार निरौला परिवारले बसाइँसराइ नगरे पनि हाल वडा नम्बर ७ मा बसोबास नरहेको जानकारी दिनुभयो।