सुनसरीको इनरुवा नगरपालिका १० स्थित श्री आधारभुत विद्यालय (शिशु –८), जल्पापुरमा आर्थिक वर्ष २०८२÷०८३ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । इनरुवमा इतिहासिक रुपमा अभिभावक सहित सर्वपक्षिय सरोकारबालाहरुको उपस्थितीमा विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयको समग्र शैक्षिक प्रगति, उपलब्धि, समस्या तथा चुनौतीका साथै आगामी कार्ययोजनाका विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव तथा प्रतिक्रिया दिएका थिए । प्राप्त सुझाव तथा प्रतिक्रियालाई विद्यालयको आगामी योजना तथा कार्यक्रमहरूमा समेट्दै अघि बढ्ने विधालयका प्रधानाध्यापक देवकृष्ण यादवले प्रतिबद्धता जनाउनुभएको छ । प्रअ यादवले कार्यक्रम सफल बनाउन उपस्थित भई महत्वपूर्ण सुझाव, सहयोग तथा सहभागिता प्रदान गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सरोकारवालाहरूप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रअ यादवले विद्यालयमा प्रअ भएर आएपछि पहिलो पटक पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय शिक्षाका लागि विद्यालयको निरन्तर यात्रामा सहजताका लागि सामाजिक परीक्षण कार्यक्रम पनि गरेको बताउनुभयो । विद्यालयमा सामाजिक परीक्षण कार्यक्रम विद्यालयको आर्थिक, शैक्षिक र व्यवस्थापकीय गतिविधिको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न, सरोकारवालाहरूलाई जानकारी गराउन गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी समाजसेवी ऐयुव अंसारीले इनरुवा नगरपालिका क्षेत्रमा पहिलो पटक यसरी विद्यालयले पनि सार्वजनिक रुपमा अभिभावक तथा सरोकारबालाहरुलाई निमन्त्रणा गरि बोलाई सामाजिक परीक्षण गरेको भन्दै प्रशंसा गर्नुभयो । अंसारीले यस श्री आधारभुत विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सहित विद्यालय परिवारलाई हार्दिक बधाई तथा कार्यक्रम सफलताको शुभकामना दिनुहुदै शैक्षिक गुणस्तरमा विगतदेखी रहेको कमिकम्जोरी सुधार गर्दै राम्रो शिक्षा दिन सुझाव दिनुभयो । पूर्व गाविस अध्यक्ष इसा अंसारीले शैक्षिक गुणस्तर वृद्धि र अभिभावकसंग विद्यालयलाई जोड्न सामाजिक परीक्षण कार्यक्रम योगदान गरेको बताउनुभयो ।
श्री आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष विधानन्द पोदार, समाजसेवी दिपेश गुप्ता, र सहायक प्रधानाध्यापक होमनाथ दाहाल सहितको उपस्थिती रहेको थियो ।


सामाजिक परीक्षणका मुख्य उद्देश्यहरू
पारदर्शिताः आर्थिक आयव्यय, बजेट र स्रोतसाधनको उपयोगको अवस्था सार्वजनिक गर्ने।शैक्षिक सुधारः विद्यार्थीको सिकाइ उपलब्धि, शैक्षिक प्रगति र गुणस्तर वृद्धिका बारेमा समीक्षा गर्ने रहेको छ ।
सम्बन्ध विस्तार ः विद्यालय, अभिभावक, शिक्षक र स्थानीय समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने रहेको छ ।
उत्तरदायित्व ः शिक्षा नियमावली तथा विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ बमोजिम निर्धारित लक्ष्य र निर्णयहरूको कार्यान्वयनको मूल्याङ्कन गर्ने रहेको छ । कार्यक्रममा प्रस्तुत हुने विवरणहरूगत आर्थिक वर्षको आय–व्यय तथा आर्थिक कारोबार, वार्षिक शैक्षिक उपलब्धि र भौतिक पूर्वाधारको अवस्था । आगामी योजना, सरोकारवालाका सुझाव र सुधारका उपायहरू । यस प्रकारको कार्यक्रम पश्चात् तयार गरिएको अन्तिम प्रतिवेदन सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा बुझाउने गरिन्छ ।