कोशी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने : कार्की
पवन राैनियार । सुनसरी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने र स्थानीय तहसँग समन्वय गरी नियन्त्रणका काम अघि बढाउने बताउनुभएको छ । विहीबार सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत कोशीपारि रहेको श्रीलंकाटप्पु क्षेत्रमा स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा कटान रोक्न तत्काल काम गर्ने बताउनुभयो । उहाँले जोखिमयुक्त क्षेत्रमा रहेका घरपरिवारको सुरक्षित आवास व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि सरकार गम्भिर रहेको बताउनुभयो । अनुगमन तथा निरीक्षण क्रममा मुख्यमन्त्री कार्कीले तत्काल कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने र स्थानीय तहसँग समन्वय गरी नियन्त्रणका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोशीमा तीव्र कटान गर्न थालेपछि जोखिम न्यूनीकरण र कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारसहित सरोकारवाला निकायको उच्चस्तरीय टोलीले सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिका–६ र ९ अन्तर्गत श्रीलंका टप्पु क्षेत्रमा जोखिम न्यूनीकरण र कटान नियन्त्रणका लागि उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो । कोशी प्रदेश सभा सदस्य पूर्वमन्त्री सदानन्द मण्डल, बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की र उदयपुरको बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको सक्रियतामा मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा र राजेन्द्रकुमार राई, उपसभामुख सिर्जना दनुवार, प्रदेश सरकारका मन्त्री तथा पूर्वमन्त्री, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा जनप्रतिनिधि र स्थानीयहरुले कटान रोक्न तत्काल कदम चाल्नुपर्ने, जोखिमयुक्त क्षेत्रमा रहेका घरपरिवारको सुरक्षित आवास व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि सहयोग गर्न आग्रह गरेको थियो । यसअघि बराहक्षेत्रको चिलैया र गरैया क्षेत्रमा तीव्र नदी कटान रोक्न स्थानीयवासीको सहभागितामा बराहक्षेत्र र बेलका नगरपालिकाले साधन–स्रोत परिचालन गर्दै सुरक्षा निकायसँग समन्वय गरी बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरेर जैविक तटबन्ध निर्माण गरेका थिए । नदीको तीव्र कटानका कारण उक्त प्रयासले कटानलाई पूर्ण रूपमा नियन्त्रण गर्न भने सकेको छैन । सप्तकोशीको बढ्दो कटानसँगै श्रीलंकाटप्पु आसपासका बस्ती र स्थानीयवासी थप जोखिममा पर्न सक्ने अवस्था देखिएपछि स्थानीयले तत्काल प्रभावकारी र दिगो तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्दै आएका छन् ।
