काेशी प्रदेश स्तरीय प्रतियोगिताकाे तयारी
सुनसरीकाे इनरुवा नगरपालिकामा काेशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे तयारी भएको छ । माघ ३ गतेदेखि सञ्चालन हुने काेशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे तयारी पुरा भएको खेलकुद महासंघ सुनसरीले पत्रकार सम्मेलन गरि जनाएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मुल नारा बोकेको नेपाल खेलकुद महासंघको स्थापना २०६६ साल मंसिर १४ गतेका दिन भएको हो । स्थापना काल देखिनै यस संगठनले नेपालको खेलकुदको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको सर्वविधितै छ।

खेल र खेलाडीहरुको पक्षमा यस संगठन सदैव उभिदै आइरहेको छ। खेलकुद क्षेत्रमा रहेका विभिन्न विकृति र विसंगती विरुद्ध यस संगठन सदैव लड्दै रहेको छ। खेलाडीको मर्म र भावनालाई यस संगठनले बोकेर अगाडी बढिरहेको छ । खेलकुद क्षेत्रमा यस संगठनले स्थापना काल देखिनै विभिन्न खेलका कार्यक्रमहरु गर्दै आइरहेकोछ । जसबाट खेलाडीको खेलस्तर विकास हुनुको साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको चर्चा भइरेहेको सर्वविधितै छ। पछिल्लो समयमा नेपाली खेलकुदको क्षेत्रमा क्रिकेट खेल चर्चामा रहेको छ। यसै खेललाई अझ बढी विकास र बिस्तार गर्ने अभिप्राय बोकेर नेपाल खेलकुद महासंघ अन्तर्गतको वडा, नगर, जिल्ला तथा प्रदेश कमिटीहरु लागि परिरहेका छन् । नेपाल खेलकुद महासंघको १६ औं स्थापना दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले स्व. शान्ति गुरुङ्ग भण्डारीको स्मृतिमा कोशी प्रदेश स्तरीय सिनियर पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिरहेको छ।

स्व. शान्ति गुरुङ्ग भण्डारीको बारेमा कुरा गर्नु पर्दा वहाँको जन्म २०३६ साल मंसिर २८ गते भएको थियो । वहाँ १६ वर्ष सम्म शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो भने वहाँको श्रीमान् प्रमोद भण्डारी इनरुवाका स्थित सखुवागाछी क्रिकेट क्लबको पहिलो ब्याचको उत्कृष्ट खेलाडी हुनु हुन्थ्यो । वहाँ पूर्व खेलाडीका साथ साथै हाल सामाजिक अभ्यिन्ताको रुपमा सक्रिय हुनुहुन्छ ।
प्रतियोगितामा सहभागी टिमहरुमा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ्ग जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ,उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र नेकोस इनरुवा-११ (आयोजक) सहित ६ टिम रहेको छ । प्रतियोगिताको ढाँचा: टि-२० सहभागी खेलाईने छ । नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी, सुनसरीले आयोजना गर्ने प्रतियोगितामा उपाधी जित्ने टिमलाई नगद रु. ५०,०००/- साथै शिल्डकप, मेडल तथा प्रमाण-पत्र र द्वितीय पुरस्कार नगद रु. २५,०००/- शिल्डकप, मेडल तथा प्रमाण-पत्र प्रदान गर्ने जनाएको छ । उक्त कार्यक्रममा म्यान अफ द सिरिजलाई रु. ५,०००/- साथै कप, बेस्ट ब्याटर नगद रु. २,५००/- साथै कप, बेस्ट बलर नगद रु. २,५००/- साथै कप, हरेक खेलको म्यान अफ द म्याच नगद रु. १,०००/- साथै मेडल दिने जनाएको छ । नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी ईन्चार्ज चेतनाथ पौडेल (सि.पि.), अध्यक्ष सरोज बस्नेत सहितले प्रतियोगिताकाे तयारीकाे बारेमा जानकारी दिनुभयो । अध्यक्ष सरोज बस्नेतका अनुसार प्रतियोगिता माघ ०३ गते देखि ०६ गते सम्म हुनेछ । प्रतियोगिता सुनसरी बहुमुखी क्याम्पस, इनरुवा ४ को खेल मैदानमा बिहान ०८:३० देखि हुने तयारी भएको छ । प्रतियोगितामा अनुमाणित लागत खर्च २० लाख ५० हजार रहेको जनाएको छ । सहभागी टिमहरु झापा, उदयपुर र इलामलाई खाने बस्नेको व्यवस्थापन आयोजकबाट गरिएको जनाएको छ । यस प्रतियोगितालाई नेपाल क्रिकेट संघ अन्तर्गतको सुनसरी जिल्ला क्रिकेट संघ र कोशी प्रादेशिक क्रिकेट संघबाट मान्यता प्राप्त रहेको जानकारी गराएकाे छ। नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विपल्प घाेष, क्रिकेटका शिव कुमार यादव , अफजल हुसेन सहितको उपस्थिति रहेको थियो ।
