भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २८ गते ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तरविद्यालय खेलकुल प्रतियोगिता आईतबारबाट सुरु भएको छ । भोक्राहा नरसिंह १ को शारदा माध्यमिक विद्यालय रामपुर ढोकको खेल मैदानमा गाउँपालिका अध्यक्ष अजलम अख्तर आजादले उद्घाटन गर्नुहुभएसगैं प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म संञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्नुहुर्दै गाउँपालिका अध्यक्ष अजलम अख्तर आजादले स्वास्थ्य, कुलतबाट मुक्ती र प्राज्ञिक शिक्षाका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।







उहाँले खेलकुदले विद्यार्थीको शारिरीक ,मानसिक, संवेगात्मक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान दिने उदेश्यका साथ पहिलो पटक अध्यक्ष कपको आयोजना गरेको बताउनुभयो । विगतमा हुदै आएको राष्टपती रनिगं कप संघीय सरकारले हटाएको भन्दै स्वस्थ समाजको परिकल्पना खेलकुद क्षेत्रको बिकासले मात्र सम्भव रहेकाले आफूहरुले विधार्थी बालबालिकाहरुको लागि अध्यक्ष कप आयोजना गरेको बताउनुभयो । ‘शरिर स्वस्थ रहे बौद्धिक विकास मौलाउने गर्छ’उहाँले भन्नुभयो‘विद्यार्थीको शैक्षिक बिकासका लागि खेलकुद एकसाथ रहन आवश्यक छ ।’ प्रतिभा र कक्षा अनुसारको खेलकुद समावेस गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा १ देखी ३ , कक्षा ४ देखी ५ , कक्षा ६ देखी ८ , कक्षा ९ देखी १० र कक्षा १० देखी १२ सम्मको विधार्थीका लागि अलग अलग कार्यक्रम राखिएको छ । भलिबल, कबड्डी, हाई जम्प, लगं जम्प, दौड, स्लो साईकल रेस, भाला फ्याक्ने, छेलो सहितका १५ वटा खेल समावेस गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटीका गाउँपालिका अध्यक्ष युवराज दाहालले खेलकुदको बिकासले विद्यार्थीहरुको सर्बाङ्गिण विकासमा सहयोग पू¥याउने भन्दै विद्यार्थीलाई शैक्षिक बिकासका साथसाथै खेलकुद विकासमा समेत अग्रसर गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँपालिकाका अध्यक्ष अजलम अख्तर आजादले कार्यभर समालेदेखी नै शिक्षामा महत्वपूर्ण काम गरेकाले खेलकुद अनुशासन र बिधि अनुसार खेलिने खेल भएकाले, दक्ष र कर्मठ नागरिक उत्पादनमा समेत ध्यान दिएको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको संस्थागत विकास र संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले सभ्य समाजको परिकल्पना र राष्ट्रको विकासका लागि शिक्षा र खेलकुद नङ र मासुको जस्तै सम्वन्ध रहेको बताउनुभयो ।
शारदा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार मेहताले खेलकुदलाई घर, समुदाय र विद्यालय हुदै जिल्ला, क्षेत्रिय र राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिदै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । मेहताले गाउँमा खेलकुदको विकासमा थुप्रै चुनौतीहरु रहेकाले सबै पक्षले यसको विकासमा सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विगतमा स्थानीय र जिल्लामा दुई ठुला प्रतियोगिता वर्षेनी संञ्चालन भईरहेकोमा यसपालीदेखी कार्यक्रम कटौती भएको जानकारी आएकाले गाउँपालिकाले स्वामित्व ग्रहण गरी विधार्थीलाई शिक्षाका साथसाथै खेलकुदमा अभिप्रेरित गर्न अध्यक्ष कपको नाममा प्रतियोगिता गरेको बताउनुभयो । उहाँले आगामी दिनमा शैक्षिक एवंम् खेलकुद प्रतिभाहरुलाई समेत ध्यानमा राखेर कक्षागत र विद्यालय गत रुपमा कार्यक्रम गरि खेलकुद अन्तरनिहित प्रतिभा भएकालाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । जित र हारको रुपमा नभई आपसी भाईचार अभिबृद्धि र आत्मियता साट्न खेलिने भएकाले प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो । कार्यक्रममा खेलकुद समितिका कृष्णराज विष्टले गाउँपालिका क्षेत्रका १५ विद्यालयका विधार्थीहरुको सहभागितामा १५ खेलकुद समावेस गरी अध्यक्ष कपको आयोजना गरेको जानकारी दिनुभयो ।
प्रतियोगिता उद्घाटनअघि प्रदर्शन गरिएको विद्यार्थी मार्चपासलाई अध्यक्ष अजमल अख्तर आजादले सलामी दिनुभएको थियो । उदरघाटन पछि सहभागी विद्यालयका खेलाडीहरुलाई विधा अनुसार र कक्षा अनुसारको खेलमा सहभागि गराएको थियो । अध्यक्ष अंसारीले खेलाडी र रेफ्रीलाई भलिबल हस्तान्तरण गरेर उद्घाटन खेल संञ्चालन गर्नुभएको थियो । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा जनता मा.वि., शारदा मावि, पुथ्वी मावि, श्री आधारभुत विद्यालय गरी ८ टिम सहभागी भएका छन् । कार्यक्रममा उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा अध्यक्ष लक्ष्मण मेहता, धिरेन्द्र कुमार यादव, हारुन अंसारी, सेराजुद्धिन अंसारी, हाजी उसमान मियाँ, पत्रकार जयकृष्ण यादव, दिपेन्द्र यादव, जुगनु झा र सुरेन्द्र मेहता तथा विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । खेलकुद समितिका अध्यक्ष तथा शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षमा सुरु भएको प्रतियोगिता भोली सोमबार समापन हुने जनाएको छ ।





१, भोक्राहा नरसिंहमा अध्यक्ष कप अन्तरविद्यालय खेलकुदमा मार्च पास गर्दै खेलाडीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
