जुगेश दास । मध्यहर्षाही

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामा रहेको देखिएकाले बचतकर्ता चिन्तित बनेका छन् । संस्थाले नियमित र पार्दशी काम नगरेकोले घाटामा गएको छ। संस्थाकाे आर्थिक वर्ष २०८०/०८१ मा ३६ लाख घाटा व्यहोरीरहेको लेखा प्रतीवेदनले देखाएको छ। यस्तो भए पछि बचतकर्ता र सदस्यहरुले छानबिनका लागि माग गरेको छ । संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा थप १४ लाख घाटा थपिँदै कुल ३६ लाख घाटामा पुगेको देखाएको हो। चौतर्फी रुपमा आर्थिक पारदर्शितामाथि प्रश्न उठ्न थालेपछि शेयर धनिहरुलाई बचत गरेको रकम डुब्छ की भन्ने चिन्ताले सताउन थालेकाे छ। शेयरधनीहरूले आफ्नो लगानीको सुरक्षा र संस्थाको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सहकारीको व्यवस्थापन, ऋण असुली प्रक्रिया, र आर्थिक गतिविधिको छानबिन गरी वास्तविक्ता सार्वजनिक गर्न माग गरेका छन्।

एक बचत कर्ताले नाम न खुलाउने शर्तमा भने “म लगभग ६ बर्ष देखि दैनिक रुपमा बचत गर्दै छु, तर हरेक वर्षको साधारण सभामा संस्था घाटामानै गई रहेको सुन्दा बचत गरेको रकम डुब्ने चिन्ता ले सताउने गरेको छ। बचत निकाल्न जाँदा विभिन्न बहना हेराउने गरेको बताए।

यसै बिषयमा संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद यादव संग कुराकानी गर्दा “उनले भने २४ जना ऋणीले ४९ लाख ६८ हजार रुपैयाँ सावा तथा ब्याज समयमा चुक्ता नगरेको कारण घाटा देखिएको हो।” संस्थाले ६८ लाख ३३ हजार रुपैयाँ ऋण लगानी गरेपनि समयमै ऋण असुल गर्न नसक्दा झनै घाटामा पुगेको बताए । १० वर्षसम्म भाखा नाघेको ऋणमा पनि असुली हुन नसकेकोले संस्थाले  बाध्य भएर पत्रिकामा  सूचना प्रकाशन गर्दै लिलामी प्रकृया सुरु गरिसकेको यादवको दावी छ।

यता स्थानीय तह र सहकारी निरीक्षण तथा नियामक निकायले संस्थाको आर्थिक कारोवार तथा व्यवस्थापन प्रणालीमाथि गहिरो छानबिन गर्नु पर्ने देखिन्छ।