अजितकुमार झा

सुनसरी​,३ भदौ । ​पछिल्लो समय आपराधिक घटनाहरूलाई कुनै न कुनै रूपमा धर्म वा समुदायसँग जोडेर प्रचारप्रसार गर्ने प्रवृत्ति बढेकोप्रति सरोकारवाला, विज्ञ तथा अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले अपराध व्यक्तिको व्यक्तिगत आचरण, प्रवृत्ति र कानुन उल्लङ्घनको विषय भएकोले यसलाई कुनै पनि धर्मसँग जोड्नु न्याय र विधिको शासनको उपहास हुने बताएका छन्।

​नेपाल एक शान्त, सहिष्णु र बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भएको राष्ट्र भएको उल्लेख गर्दै उनीहरूले यस्ता प्रवृत्तिले सामाजिक सद्भाव तथा आपसी सहअस्तित्वमा गम्भीर असर पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। कानुनका विज्ञ तथा मानवअधिकारकर्मीहरूका अनुसार अपराध गर्ने व्यक्तिको पहिचान केवल ‘अपराधी’ मात्र हो, उसको कुनै जात, धर्म वा सम्प्रदाय हुँदैन।

​नागरिक समाजका प्रतिनिधिहरूले भनेका छन्, “कुनै व्यक्तिले गरेको गलत काम वा अपराधको दोष सिंगो धर्म वा समुदायलाई दिनु किमार्थ उचित होइन। यसले समाजमा अनावश्यक द्वन्द्व र विभाजन ल्याउने काम मात्र गर्छ।”

​कानुनको दृष्टिमा सबै नागरिक समान रहने र अपराध गर्ने जोसुकैलाई पनि राज्यले कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा उनीहरूको जोड छ। साथै, यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा वा सामाजिक सञ्जालमा धारणा राख्दा आम नागरिक, सञ्चार माध्यम तथा सम्बन्धित पक्षहरूले संयमता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

​देशको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार बन्नुपर्ने र प्रशासनले पनि कुनै पनि किसिमको धार्मिक वा साम्प्रदायिक अतिवादलाई प्रश्रय नदिई निष्पक्ष रूपमा कानुनी राज्यको पालना गराउनुपर्नेमा विज्ञहरूको जोड रहेको छ।