देवराज यादव । इनरुवा
इनरुवा, पुस २९ गते । मधेस प्रदेश र कोशी प्रदेशको सीमामा रहेको देशकै ठूलो नदी कोशीको सुनसरीको कोशी गाउँपालिका ८ स्थित कोशी व्यारेजमा पौषशुक्ल पूर्णिमा मेला लागेको छ । मधेसी समुदायको आस्थाको पर्व जमा पौषशुक्ल पूर्णिमा र मगर संक्रान्तिको अवसरमा कोशी व्यारेज र इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलामा भव्य मेला लागेको हो ।

पौषशुक्ल पूर्णिमा अर्थात् माघ स्नान सुरु भएको अवसरमा भव्य मेला लागेको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । पौषशुक्ल पूर्णिमाको दिन सोमबार सुनसरीको भाण्टाबासी कोशी ब्यारेज मेलामा श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको यादवको भनाई छ ।

सप्तकोशी नदीमा स्नान गरी मेला भर्न आउनेहरुको बिहानदेखि भीड लागेको हो । नेपाल हुदै भारत तर्फ बग्ने कोशीमा स्थानका लागि नेपालीसगैं भारतीय धार्मिक पर्यटकहरु समेत कोशी स्नान र मेला भर्न आएकाले भिड बढेको छ ।

सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेकका ठाउँमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकल सहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरि नै घुइँचो लागेको इलाका प्रहरी कार्यालय भाण्टाबारीले जनाएको छ । स्थानीय शास्त्री कुञ्जीलाल मेहताका अनुसार पौषशुक्ल पूर्णिमाको दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ ।

कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाइहरु खाने प्रचलन छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद बिक्री हुने गरेको छ । मेलामा सप्तरीका १८ वटा स्थानीय तहहरु र सुनसरीका १२ वटै स्थानीय तहहरुका स्थानीयहरु सहभागी भएका छन भने सुनसरीको कोशी गाउँपालिकाले स्थानीय बिदा समेत दिएको छ ।


१, सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी व्यारेजमा मेला भर्न आएकाहरु ।
तस्विर ः देवराज यादव । इनरुवा