रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको धम्कीले आफुहरु आतंकित भएको स्थानीयको गुनासो

जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ८ गते । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कोशी कटान शिवचौकमा निर्माणाधिन कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको धम्कीको कारणले आफुहरु आतंकित भएको स्थानीयले गुनासो गरेका छन् । परियोजनाका लागि प्रदेश सरकारले पाँच वर्ष अघि २२ विघा १२ कट्ठा जग्गा किनेको र त्यसको मूल्य तथा मुआब्जा रकम वितरण गरी अधिग्रहण गरिएकोमा पुस २६ गते फेरि सार्वजनिक सूचना जारी गरि संरचना हटाउने भनेपछि जग्गाधनीहरुले आफुहरु आतंकित भएको स्थानीयले गुनासो गरेका हुन् ।
एक पटक संरचना हटाई आफ्नो निजी जग्गामा घर, भवन र संरचना बनाएको दुई वर्ष पछि फेरि सूचना जारी गरि धम्की दिएको भन्दै मंगलबार पत्रकार सम्मेलन गरि जग्गाधनीले आफुहरु आतंकित भएको स्थानीयले गुनासो गरेका छन् । जग्गाधनी परिवारका सदस्य तथा कोशी कटान शिव चोक बजार व्यवस्थापन समितिका अध्यक्ष हसन्त मण्डलले राज्यको कर्मचारीले गल्ती गर्ने र त्यसको मार स्थानीयलाई खेप्नुपरेकोले सरकारी धम्कीको विरुद्धमा पत्रकार सम्मेलन गरि न्यायका लागि अपिल गर्नुपरेको बताउनुभयो ।

स्थानीय जग्गाधनी सेलोदेवि मण्डलले आफ्नो ५ कट्टा ५ धुरमा बनाएको निजी संरचना र माटो पुर्ने समेतको गरि ५० लाख रुपियाँ लगानी गरेकोमा राज्यले अन्यापूर्ण रुपमा सूचना जारी गरेर त्रसित बनाउने काम गरेको गुनासो गर्नुभयो ।
कोशी गाउँपालिका ४ का पूर्व वडा अध्यक्ष अमिन मियाँ नेपालीले आफू समक्षमा भएको नापजाँच अनुसारको क्षेत्र भन्दा बाहिर रहेका जग्गामा जग्गाधनीहरुले बनाएको घर समेत हटाउन दबाव दिएकाले त्यसको प्रतिकार र प्रतिवाद गर्ने प्रतिकृया दिनुभयो ।
कोशी ४ का अर्का जग्गाधनी चन्द्रदेव मेहताको ५ कट्ठा ५ धुर, जगदेव मटियेत ६ कट्ठा १० धुर सत्यदेव मटियेत ६ कट्ठा १० जग्गामा समेत अधिकरणको धम्की दिएको भन्दै आफुहरु आतंकित बनेको गुनासो गर्नुभयो ।
स्थानीय धर्मेन्द्र मेहताले दिनुभएको जानकारी अनुसार कोशी गाउँपालिका वडा नम्बर ४ कोशी कटान शिव चोकमा रहेको बजारमा एकै जनाको ५० लाख भन्दा माथि लगानीमा संरचना बनेको र त्यसलाई हटाउन उर्दी जारी गरेकाले स्थानीय आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
उता शहरी विकास तथा भवन कार्यालय, विराटनगरले भने सुनसरीको कोशी गाउंपालिकम वडा नंम्बर ४ मा निर्माणाधिन कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको लागि मुआब्जा रकम वितरण गरी अधिग्रहण गरिएको क्षेत्र भित्र रहेका घरटहराहरु हटाउनको लागि प्रकाशित सार्वजनिक सूचना जारी गरेको जनाएको छ । स्थानीयले भने आफुहरुलेकोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको नापी,जनप्रतिनिधि र इन्जिनियरहरुको उपस्थितिमा भएको नापजाँच पछि मात्रै आफ्नो निजी जग्गामा संरचना बनाएको दाबी गरेका छन् ।
यसैबीच कोशी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय कोशी प्रदेश विराटनगरले जारी गरिएको सार्वजनिक सूचनामा भनिएकोछ , “
कोशी गापा वडा नं.४, मा निर्माणाधिन कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको लागि जग्गा अधिग्रहण तथा मुआब्जा निर्धारण समिति, सुनसरीको मिति २०७५।१२।०५ र २०७६।०१।३० गतेको निर्णयानुसार सम्बन्धित जग्गाधनिहरुलाई मुआब्जा रकम बितरण गरी अधिग्रहण गरिएको परियोजना क्षेत्र भित्र रहेका घर टहराहरु हटाउनको लागि पटक पटक स्थानीय पालिका घर, प्रसल÷व्यबसाय सञ्चालन गर्दै आईरहनु भएका स्थानीय जनसमुदायहरुलाई लिखित तथा मौखिक रुपमा आंग्रह गर्दा पनि हालसम्म उल्लेखित घर टहरा हटाउने कार्य नगरेको÷नभएको कारणले निर्माणाधिन परियोजनाका निर्माण व्यवसायीले तोकिएको सम्झौतामा उल्लेखित मितिमा निर्माण कार्य सम्पन्न गर्न नसकिने भनि पटक पटक यस कार्यालयमा लिखित निवेदन पेश गरेको हुदाँ यो सूचना प्रकाशित भए
को मितिले १५ (पन्ध्र) दिन भित्र कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको लागि मुआब्जा रकम वितरण गरि अधिग्रहण गरिएको परियोजना क्षेत्र भित्र रहेका सम्पूर्ण घर टहरा हटाउनु हुन अनुरोध गरिन्छ । साथै तोकिएको म्याद भित्र घर टहरा नहटाएमा नियमानुसार हुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ । ”

१, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कोशी कटान शिवचौकमा निर्माणाधिन कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजनाको धम्कीको कारणले आफुहरु आतंकित भएको भन्दै स्थानीयले गरेको पत्रकार सम्मेलनमा आफ्नो गुनासो राख्दैं ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा