जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १० गते । सुनसरीको इनरुवामा मिटर व्याजी पीडितको जागरण सभा सम्पन्न भएको छ । मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिति कोशी प्रदेशको आयोजना र जिल्ला समितिको संयोजनमा भएको जागरण सभा मिटरब्याज पीडितहरुले आफूहरुको बेईमानी भएको धितोको जग्गा फिर्ता हुनुपर्ने, व्याजदर १० प्रतिशतले मात्रै भुक्तानी गरेर ऋणबाट छुटकारा पाउनुपर्ने, वितिय संस्थाको धम्की आतंक बन्द गर्नुपर्ने माग राख्दै मिटर व्याजी पीडितको जागरण सभा सम्पन्न गरेको हो । विहीबार सयौंको संख्यामा भेला भएका मिटर व्याजी पीडितहरुले आफूहरुलाई अन्याय भएकाले न्यायको लागि जागरण सभा गरेको जनाएका छन् । मिटर व्याजी जागरण सभामा पीडित कलिम मंसुरीले विभिन्न समयमा गृहमन्त्रालयसंग भएको सम्झौताहरुको कार्यान्वयन गरी मिटर ब्याज पीडितहरुलाई ऋणमुक्त र त्रासमुक्त बनाउनुपर्ने बताउनुभयो ।


उहाँले सरकारबाट आश्वासन र विश्वास पाएको भएपनि अझै समस्या रहेकाले सहजिकरण गर्नुपर्ने र लाखौको जग्गा हजारमा, करौडो सम्पती लाखमा धितो भएका कारणले पचाएको, बेईमानी गरेको भन्दै आफूहरु आन्दोलनमा रहेको बताउनुभयो ।
आफूहरुको घरजग्गा ठगी गर्ने, बेईमानी गर्ने मिटरब्याजी परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने,मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारहरुलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउनुपर्ने माग आफूहरुको रहेको वत्ता पीडित निरो उराँवले बताउनुभयो ।
अर्का पीडित अमरुन खातुनले ऋणीसँग ऋणको तमसुक गर्दा ऋणीले साँवा ब्याज चूक्क्ता गरेपछि पनि फिर्ता नगर्नेहरुलाई कार्वाही गर्नुपर्ने माग गर्नुभयो । सरकारले मिटर ब्याज विरुद्धको संघर्ष समितिसंग गरेको सहमतिको कार्यान्वयन चरणमा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रशासनमा आएको उजुरी माथि छाविन र कार्वाही भईरहेको जनाएको छ ।


१, सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ४ मा मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिति कोशी प्रदेशको आयोजना भएको मिटरब्याज पीडितहरुको जागरण कार्यक्रममा पीडितहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा