इनरुवा, माघ १५ गते । सुनसरीको कोशी गाउँपालिकामा सार्वजनिक सम्पत्ति संरक्षण सम्बन्धि सरोकारवाला बिच संवाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजना र कोशी गाउँपालिकाको समन्वयमा भएको सार्वजनिक सम्पत्ति संरक्षण सम्बन्धि संवादमा गाउँमा रहेको सार्वजनिक बाटो, सडक र नदी, पैनी र खोलाको अतिक्रमण हटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।


सिमा तथा भित्री बाटो र खोलानालाहरुको पेटी र डिलको सुरक्षा गरि सार्वजनिक जग्गा र सम्पतीलाई संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका हुन् । संवादमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफ्नो गाउँपालिका क्षेत्रमा रहेको सबै सार्वजनिक सम्पत्तिको संरक्षणमा आफूहरु लागेको बताउनुभयो । उहाँले मठ, मन्दिर, मस्जिद, मदरसा, विद्यालय, बाटोघाटो, सडक र नदी, पैनी र खोलाको अतिक्रमण हटाउनुपर्ने आवश्यकता महसुस गरेको र सबै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न लागिपरेको बताउनुभयो ।


सरोकारवालाहरुको सहभागीतामा गाउँ टोलमा समेत संवाद गरेर सबै सार्वजनिक सम्पत्तिको अनाधिकृत दोहन र अतिक्रमण हटाउने उहाँले बताउनुभयो ।
उहाँले गाउँबासीले यस अभियानमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष अनिता देवी यादवले आफुहरुको पालिकामा आफ्नो जग्गा भन्दा सार्वजनिक सम्पत्तिको उपयोग तथा अधिकरणको विषयमा बढी मुद्दा र गुनासो आउने गरेको बताउनुहुदै यस्तो सम्पत्तिको संरक्षणमा आफुहरु लागेर मात्रै नहुने भएकोले स्थानीयले समेत सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोशी गाउँपालिका वार्ड नं ३ का वडाध्यक्ष सुलेमान मन्सुरीले बाटो निर्माण गर्दा आफूहरुले राम्रो काम गरेपनि स्थानीयले त्यसको सहि सदुपयोग नगरी गोबर, गोईठा, पराल , घासदाउरा राख्ने र गाईभैसी बाध्ने गरेकोले सडक विग्रने भएकोले अतिक्रमण हटाउन जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीयहरु सडकको गुणस्तरीयतामा भने प्रश्न उठाउने गरेको गुनासो गर्नुहुदै त्यसको जिम्मेवार स्थानीय भएको बताउनुभयो । स्थानीय अनिल महात्मानले संवादमा दिनुभएको जानकारी अनुसार सडक बाटोमा गोबरगोइठा राख्ने,पराल राख्ने र अनाधिकृत रुपमा प्रयोग गर्दा आवतजावतमा समस्या भएको हो। कोशी गाउँपालिका ४ का वडा सदस्य सुर्यनारायण मेहताले आफूहरूले बाटो संरक्षण गर्न,सुरक्षा गर्न र व्यवस्थापन गर्नका लागि प्रयास गरेको भए पनि स्थानीयहरूले साथ र सहयोग नदिएको गुनासो गर्नुभएको छ। त्यसैगरी कोशी गाउँपालिका वार्ड नं ७ का वडा अध्यक्ष लालदेव सदाले आफूहरूले विकास निर्माणको काम गर्दा र विद्यालयको जग्गा संरक्षण गर्दा स्थानीयहरूको असहयोग रहेकोले काम गर्न नपाएको गुनासो गर्नुभएको छ। कोशी गाउँपालिका वार्ड नं १ का वडाध्यक्ष सोवित नारायण यादवले आफूहरूको वडामा सबैभन्दा कम सार्वजनिक जग्गा रहेकोमा त्यसको अतिक्रमण हटाउनका लागि गाउँपालिकाले चासो दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक जग्गालाई निजीकरण गर्नका लागि गाउँपालिकाकै केहीले प्रयास गरेपछि आफूहरु त्यसप्रति आपत्ति जनाएको बताउनुभयो ।


कोशी २ का वडा अध्यक्ष ध्यानी उराँव र ७ का वडा अध्यक्ष जुडिलाल कोडकीया यादवले समेत सडकबाटोको अतिक्रमण हटाउनका लागि गाउँपालिकाले चासो दिनुपर्नेमा जोड दिनुभयो । संवादमा सामाजिक परिवर्तन केन्द्रका जिल्ला संयोजक रमेश भट्टराई र संवाद सहजकर्ता जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो ।