सुनसरीको देवानगञ्जमा एकैदिन दुई स्थानबाट ठूलो परिमाणमा गाँजा बरामद

जुगेश दास । देवानगञ्ज
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित दशगज्जा सीमा नाका हुँदै भारततर्फ तस्करी गरिँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद गरिएको छ। शस्त्र प्रहरी बल, कप्तानगञ्जका प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालको नेतृत्वमा गरिएको कारबाहीमा ५० केजी गाँजा नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा शस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा तस्करहरू गाडी छोडेर फरार भएका थिए। सोही क्रममा नेपाल–भारत सीमामा गस्ती गरिरहेका शस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (SSB) ले थप अनुसन्धान गर्दा ७५ केजी गाँजा शस्त्र प्रहरीले र ७५ केजी गाँजा भारतीय सुरक्षा बलले बरामद गरेका छन्। फरार तस्करहरूको पहिचान गर्ने र लागुऔषध तस्करी रोक्न निगरानी थप कडा बनाउने प्रतिबद्धता सुरक्षाकर्मीहरूले जनाएका छन्।
यस्तै, सोही दिन देवानगञ्ज गाउँपालिका–१ मा समेत ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरिएको छ। भारतीय सीमा क्षेत्रतर्फ तस्करी गर्न लागिएको १४ बोरा गाँजा, जसको तौल करिब ३५० किलो रहेको छ, प्रहरीले नियन्त्रणमा लिएको हो।
गाँजा ओसारपसारका लागि प्रयोग गरिएको हरियाणा नम्बर प्लेट (HR. 70E.9502) भएको स्कारपियो गाडी चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने क्रममा चिमडी स्कुल अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित बनेको थियो। शंका लागेपछि चिमडी इलाका प्रहरी कार्यालयले गाडीलाई पछ्याउँदै करिब २ किलोमिटर पर नियन्त्रणमा लिएको थियो।
यस कारबाहीमा देवानगञ्ज इलाका प्रहरी कार्यालय, हरिनगरा प्रहरी कार्यालय, चिमडी इलाका प्रहरी कार्यालय, घुस्की इलाका प्रहरी कार्यालय, र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोली संलग्न रहेको थियो। इलाका प्रहरी चिमडीका इन्चार्जका अनुसार गाडी तीव्र गतिमा ब्यारेकमा ठोक्किएपछि शंका उत्पन्न भएको र त्यसपछि पिछा गर्दा गाडी खाल्डोमा पुगेपछि तस्करहरू भाग्न सफल भएका थिए। घटनास्थलबाट स्काउटिङका लागि प्रयोग गरिएको एउटा बजाज टु–ट्विन्टी मोटरसाइकलसमेत बरामद गरिएको छ।
नेपाल–भारत सीमाक्षेत्र हुँदै लागुऔषध तस्करी अझै सक्रिय रहेको संकेत यी घटनाले गरेका छन्। पछिल्लो समय सुनसरीका विभिन्न क्षेत्रमा लागुऔषध कारोबारका गतिविधि तीव्र भएको सुरक्षाकर्मीहरूले बताएका छन्। तस्करहरूले नयाँ–नयाँ तरिका अपनाइरहेका कारण सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको प्रहरी स्रोतले जनाएको छ।
सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा गस्ती र निगरानी थप कडा बनाउँदै लागुऔषध तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।