शैक्षिक सुशासनको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले बुझायो ज्ञापन पत्र
इनरुवा , फागुन ११ गते । इनरुवा नगरपालिका क्षेत्रमा शैक्षिक सुशासनको अभाव देखिएकोले पठनपठान नभएको गुनासो आएकाले शैक्षिक सुशासनको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ ।
इनरुवाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलालाई ज्ञापन पत्र बुझाउदै शैक्षिक सुशासनको माग गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले जनाएको छ । महासंघले बुझाएको ज्ञापन पत्रमा भनिएको छ , “सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा रहेका केही सामुदायिक विद्यालयले विधार्थीहरुबाट अनाधिकृत रुपमा विभिन्न शिर्षक र वाहानमा रकम असुली गरिहेकाले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । अर्को तर्फ हालै कक्षा ८ को पूर्व तयारी परीक्षामा चरम लापर्वाही गरेको खुलेकोले त्यसमा ध्यानाकर्षण भएको छ ।”


इनरुवा नगरपालिका परीक्षा समिति संयोजक काशीराम चौधरी नेतृत्वको टोलीले नेपालमा नभएको तह पूर्व आधारभुत तह तयारी परीक्षा लिएपछि चरम लापर्वाही गरेको खुलेकाले त्यसको बारेमा छानविन गर्न छानविन समिति गठन गर्नुपर्ने माग गरिएको छ । महासंघले विद्यालयहरु बालबालिकाहरुलाई मानसकि तनाव दिएर प्रति विधार्थी २०० रुपियाँका दरले रकम उठाएर लिएको परीक्षामा समेत चरम लापर्वाही गरेकोले छानविन गर्न माग सहितको ज्ञापन पत्र बुझाएको जनाएको छ ।
उक्त ज्ञापन पत्रमा भनिएको छ, “सामुदायिक विद्यालयमा निशुल्क शिक्षा भनिएको भएपनि एकातिर गैरकानुनी पैसा उठाएको अर्को तर्फ नेपालमा हाल रहेको संविधान, ऐन, कानुन अनुसार कक्षा ८ मुनीको तहलाई आधारभुत तह र कक्षा ९ देखी १२ सम्मको लाई माध्यमिक तह भनेको छ तर देशको कानुन भन्दा छुट्टै कानुन वा गैरकानुनी काम गर्दै नेपालमा नभएको तह पूर्व आधारभुत तहको नाममा तयारी परीक्षा लिएपछि चरम लापर्वाही गरेको खुलेको हो ।, यसको बारेमा छानविन गर्नुपर्छ । ”
इनरुवा नगरपालिका, शिक्षा समिति र परीक्षा समितिको समेत गल्ती देखिएकाले उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने र छानविन गरि कार्वाही गर्नुपर्ने माग गदै ज्ञापन बुझाएको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष जयकृष्ण यादवले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा अधारभुत तहलाई तह पूर्व आधारभुत तह बनाएर परीक्षा लिने, प्रश्न पत्र छाप्ने, बनाउने र सम्बन्धीत विद्यालयका प्रधानाध्यापकहरुलाई कार्वाही गर्नुपर्ने, विभिन्न वाहानामा विधार्थी र अभिभावकहरुलाई उठाईरहेको अवैध रकम लिन बन्द गर्नुपर्ने र लिनेहरुलाई कार्वाही गर्नुपर्ने , सामाजिक परीक्षण प्रतिवेदन किताव पसल , कम्युटर सेन्टरहरुबाट बनाएकाले त्यसको छानविन गरी विद्यालयमै सामाजिक परीक्षण कार्यक्रम गर्ने वतावरण निर्माण गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी इनरुवा ९ को एक विद्यालयमा रक्सी मगाएर खाएको प्रअ तेजनारायण यादवलाई लागेको आरोप र आरोप लगाउने सरस्वती माविका कार्यालाय सहयोगी लक्ष्मी उराँवमाथि छानविन गरि कार्वाही गर्नुपर्ने , नेपाल राष्ट्रय हरि माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष निर्मल सिंह खवासको विषयमा पूनरावलोकन गर्नुपर्ने , शारदा मावि बलाहामा नियमित पठन पाठन नभएको गुनासो विधार्थीबाट आएकाले अनुगमन गर्नुपर्ने सामुदायिक विद्यालयमा जागिर खाने र नीजिमा पढाउने शिक्षकहरुलाई छानविन गरि इनरुवा शिक्षा ऐन, कार्याविधि अनुसार कार्वाही गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी ज्ञापन पत्रमा प्रत्येक विद्यालयको अनुगमन गरि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सामुदायिक विद्यालयलाई दुव्र्यसन मुक्त बनाउनुपर्ने, विद्यालयमा इन्टरनेटको दुरुपउोग गर्ने, शिक्षक, कर्मचारी र प्रधानाध्यापकहरुलाई अनुगमन गरी कार्वाही गर्नुपर्ने र नगरक्षेत्रभित्र शिक्षकहरुको दरबन्दी मिलान र प्रधानाध्यापकको नियक्ति प्रकृया अगाडी बढाउनुपर्ने माग गरेको छ ।

१, इनरुवा नगरपालिकामा शैक्षिक सुशासनको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले ज्ञापन पत्र बुझाउदै ।
तस्विर ः गोरखापत्र
