हावाहुरीले विघौं केरा खेतीमा क्षती

जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १३ गते । दुईदिनदेखी लगातार चलेको हावाहुरीका कारणले सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवा सहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठूलो क्षती भएको छ । आईतबार राती र सोमबार साझँको हावाहुरीले खेतमा लगाएको केराको बोट ढलेरलडेर ठूलो क्षति भएको हो ।

स्थानीय किसानहरुले ऋण लिएर गरेको केरा खेतीमा एकैपटक यसतो ठूलो हावाहुरी आएकाले लाखौंको लगानी डुवाउने गरी क्षती भएको गुनासो गरेका छन् । भोक्राहा नरसिंह २ का केरा किसान जब्बार मियाँका अनुसार भोक्राहा र इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवामा १४ विघा क्षेत्रफलमा सामुहिक केरा खेती गरेकोमा हावाहुरीले हजारौं बोट ढलेरलडेर ठूलो क्षति भएको छ । फल्न सुरु गरेको र केही तयारी हुेन अवस्थामा रहेको केरा हावाहुरीले लडाएकाले आफूहरुको ५० लाख बढी लगानी उठाउन मुस्किल हुने गरी क्षती भएको मियाँले गुनासो गर्नुभयो । अर्का किसान खुर्सीद अंसारीले समेत आफूहरुका दुई विघा जग्गाको केरा खेती नष्ट भएको गुनासो गर्नुभयो । उहाँले आफू नौं लाख रुपियाँ ऋण लिई अर्काको खेत भाडामा लिएर सुरु गरेको केरा खेतीमा सोमबार आएको ठूलो हावाहुरीले केरा खेतीमा ठुलो क्षति पुगेको बताउनुभयो ।
उहाँ जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा सामेबरसम्म पटकपटक आएको ठुलो हावाहुरीले केरा खेती सहित गहुँ र मकै खेतीमा ठुलो नोक्सान गरेको किसानहरुले बताएका छन् । सदरमुकाम इनरुवा सहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ।
दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो।


इनरुवामा मात्रै सय बिघा क्षेत्रफलमा केरा खेती भइरहेकोमा अधिकांश केरालाई हावाहुरीले नोक्सान गरेको उहाँले बताउनुभयो । मेहताका अनुसार करिब एक करोड रुपियाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ । जिल्लामा ६ सय ५० बढी हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती भइहरेको छ। ।
एकातिर फल्न लागेको केराको क्षती अर्को तिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिविघा लाखौँ रुपियाँ खर्च गर्नुपर्ने हुनसक्ने किसानको भनाइ छ । अर्का किसान श्यामकुमार यादवले हावाहुरीले केरा खेतीमा गरेको यो नोक्सानी अहिलेसम्म कै ठुलो भएको दाबी गर्नुभयो ।